एजेन्सी - फ्रेन्च लिग १ फुटबलमा लिग लिडर पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फराकिलो जित निकालेको छ । नेपाली समय अनुसार सोमबार बिहान भएको खेलमा पिएसजीले रेइम्जमाथि ४–० को फराकिलो जित निकालेको हो ।
नयाँ खेलाडी सर्जियो रामोसले नयाँ क्लबमा पहिलो गोलको खाता खोलेको खेलमा फ्रेन्च लिग १ फुटबलमा लिग लिडर पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फराकिलो जित निकालेको छ । नेपाली समय अनुसार सोमबार बिहान भएको आफ्नो २२औं साताको खेलमा पिएसजीले लिगको कमजोर १४औं स्थानको टिम रेइम्जमाथि ४–० को फराकिलो जित निकालेको हो ।
घरेलु मैदानमा पिएसजीलाई जिताउन खेलको ४४औं मिनेटमा मार्को भेराट्टीले शानदार प्रहारमा गोलको खाता खोलेका थिए । उनले बक्स बाहिरबाट अविश्वसनीय रकेट सटमा गोल गरेका थिए ।
त्यसपछि ६२औं मिनेटमा दोस्रो गोल नयाँ डिफेन्डर सर्जियो रामोसले गरे । स्पेनिस क्लब रियल मड्रिडबाट पिएसजी पुगिकन उनले पहिलो गोल गरेका हुन् । रामोसले रिबाउन्ड बलमा गोल गरेका थिए । रामोसले नयाँ क्लबमा पहिलो गोलको खाता खोलेका हुन् ।
त्यसपछि पिएसजीले खेलको ६७औं मिनेटमा उपहार गोल पाएपछि अग्रता तेब्बर बनेको थियो । फेरि ७५औं मिनेटमा पोर्चुगिज मिडफिल्डर ड्यानिलो पेरेरियाले अर्को शानदार गोल गरेपछि खेल पिएसजीले ४–० ले जित्यो ।
सुपरस्टार लिओनल मेस्सी करिब एक महिनापछि मैदान फर्किएका हुन् । तर, उनी गोलविहीन नै बने । उनी खेलको ६३औं मिनेटमा एन्जल डि मारियाको स्थानमा मैदान छिरेका थिए ।
प्रतिक्रिया