काठमाडौं - वैदेशिक रोजगार व्यवसायीहरू बजार प्रवद्र्धनका लागि सहजरूपमा खाडी मुलुक तथा मलेसिया जान पाउने भएका छन् ।
सरकारले कोरोना भाइरस संक्रमण र बढ्दो जोखिमका कारण भिजिट भिसामा मध्यपूर्वका विभिन्न मुलुक र मलेसिया भ्रमणमा माघ १० गतेदेखि रोक लगाउने आदेश जारी गरेको थियो ।
आइतबार आफ्नो पूर्व विज्ञप्ति संशोधन गर्दै गृह मन्त्रालयले वैदेशिक रोजगार व्यवसायीहरू बजार प्रवद्र्धनका लागि खाडीस्थित विभिन्न मुलुक र मलेसिया जान पाउने उल्लेख गरेको छ ।
संशोधित आदेशमा सरकारी कामको सिलसिलामा विदेश भ्रमण गर्ने सरकारी निकायका प्रतिनिधिहरु, बिरामी कुरुवा वा बिरामीको रेखदेखको रुपमा जानेहरु र अन्तर्राष्ट्रिय कारोबार गर्ने बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि एवं अन्तर्राष्ट्रिय गैरसरकारी संघ संस्था (आईएनजीओ)का प्रतिनिधि भई जानेहरू सहित बजार प्रवद्र्धनका लागि वैदेशिक रोजगार व्यवसायीलाई भ्रमण अनुमति दिने उल्लेख छ ।
वैदेशिक रोजगारमा जाने कामदारहरूलाई यसअघि पनि कुनै प्रतिवन्ध लगाएको छैन । कोरोना महामापीका कारण करीब बन्द अवस्थामा पुगेको वैदेशिक रोजगार सो भाइरसविरूद्धको खोप आएपछि केही महिना यता पुरानो लय पहिल्याउन प्रयासरत रहेको छ ।
वैदेशिक रोजगार व्यवसायीहरू कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनका कारणले अन्तर्राष्ट्रिय उडानमा पहिलेजस्तो प्रतिबन्ध नलागेमा वैदेशिक रोजगारमा नेपाली कामदार जाने क्रमले तीव्रता पाउन सक्ने बताउँछन् ।
प्रतिक्रिया