साउदीमा उपचारको अभावमा छटपटाइरहेका नेपाली कामदारको उपचार र उद्धारमा श्रममन्त्रीको पहल, अलपत्र ८ नेपालीको दैनिक खानाको प्रबन्ध

३ बर्ष अगाडि

काठमाडौं - श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले साउदी अरवको जेद्धामा उपचारको अभावमा छटपटाइरहेका नेपाली कामदारको उपचार र उद्धारका लागि पहल गरेका छन् । 

उपचार पाउन नसकी आफू बस्दै आएको कोठामा नेपाली कामदार छटपटाइरहेको भिडियो सामाजिक सञ्जालमा आएपछि मन्त्री श्रेष्ठले त्यसबारे चासो राख्दै उपचार र उद्धारका लागि पहल गरेका हुन् ।

शनिबार विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा जाजरकोटका आइस राना उपचार पाउन नसकी पीडाले छटपटाइरहेको तस्बिर र भिडियो प्रकाशित भएको थियो । 

त्यस लगत्तै मन्त्री श्रेष्ठले नेपाली दूतावासका श्रम सहचारी प्रेम उपाध्याय र भाषा अनुवादकलाई राना भएको ठाउँमा पठाइ उपचारका लागि स्थानीय अस्पतालमा लगेको थियो । रानाको अवस्था अहिले सामान्य रहेको नेपाली काउन्सिलर शत्रुघन पोखरेलले बताए ।

नेपाली दूतावासले रानासहित जेद्धामा अलपत्र परेका आठ जना नेपाली श्रमिकहरुको दैनिक खानाको प्रबन्ध गर्दै आएको भन्दै मन्त्री श्रेष्ठको निजी सचिवालयले ८ मध्ये एकजना नेपाल फर्किसकेको बताएको छ ।

अन्य ६ जना मंगलबार नेपाल फर्कनेछन् । रानालाई पनि नेपाल फर्कने टिकटको व्यवस्था गरिएको तर, उनको त्यहाँ पुलिस केस भएकोले एक्जीट पर्मिटको लागि समय लाग्ने नेपाली दूतावासले जनाएको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया