काठमाडौं - सनराइज बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको खुद नाफा र सञ्चालन मुनाफा दुबै घटेको छ ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा बैंकले ७४ करोड ५५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २१.४७ प्रतिशत कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ९४ करोड ९४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
गत आर्थिक वर्षको पुस मसान्तसम्ममा ९ करोड रुपैयाँ रिभर्स भएको इम्पेरमेन्ट चार्ज, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ३९ करोड ४९ लाख रुपैयाँ रहेको छ । जसका कारण बैंकको सञ्चालन मुनाफा र खुद नाफा घट्न पुगेको हो ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ०.८० प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी ९.१७ प्रतिशत बढेको छ। समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा भने २१.५९ प्रतिशत घटेको छ । पुस मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा १० करोड ११ लाख रुपैयाँ रहेको छ ।
नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ । गत आर्थिक वर्षको पुस मसान्तसम्ममा २० रुपैयाँ १ पैसा रहेको बैंकको यस्तो आम्दानी, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा घटेर १४ रुपैयाँ ७४ पैसामा झरेको छ ।
प्रतिक्रिया