मन्त्री क्वार्टर निर्माणमा १ अर्ब ३ करोड लागत, सजावटमा मात्र २४ करोड

४ बर्ष अगाडि

काठमाडौं - सरकारले मन्त्री क्वार्टरको सजावटमा मात्र करिब २४ करोड रुपैयाँ खर्चिने तयारी गरेको छ । आम नागरिकको आलोचनाबीच सरकारले १ अर्ब ३ करोड रुपैयाँको लागतमा ललितपुरको भैंसेपाटीमा २७ वटा मन्त्री क्वार्टर निर्माण गरिरहेको छ ।

१ अर्ब रुपैयाँभन्दा बढी रकम खर्चिएर आवास बनाइरहेको विशेष भवन निर्माण परियोजनाले ती भवनको आन्तरिक सजावटमा मात्र करिब २४ करोड रुपैयाँ थप खर्च गर्ने भएको हो । आगामी दसैंसम्म नयाँ आवासमा मन्त्रीलाई सार्ने योजना बनाएको परियोजनाले आन्तरिक सजावटमा मोटो रकम खर्चन लागेको हो । 

निर्माणाधीन मन्त्री क्वार्टरकोे ‘इन्टेरियर डिजाइन’देखि अन्य सजावटका सामग्री खरिदका लागि २४ करोड रुपैयाँको बजेट बनाएको विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयले जनाएको छ । २४ करोडमा इन्टेरियर डिजाइनदेखि मन्त्री क्वार्टरका फर्निचर, बेड, मिटिङ हलका कुर्चीदेखि पर्दा, किचन सामग्रीलगायत रहेको बताइएको छ । 

सजावटको रकम २४ करोडमा करिब ३० प्रतिशत कम टेन्डर पर्दा पनि करिब १७ करोड रुपैयाँ हुन्छ । पहिलो चरणमा १ अर्ब ३ करोडको सम्झौता भएर काम अघि बढिरहेको छ । दोस्रो चरणमा करिब ३४ करोड ७७ लाख रुपैयाँको लगानीमा सुरक्षा भवन, हेल्थ क्लब, स्विमिङ पुल बनाउन सम्झौता गर्ने तयारी छ । तेस्रो चरणमा आन्तरिक सजावटका लागि २४ करोडको बजेट बनाएको हो ।

४ बर्ष अगाडि

प्रतिक्रिया