काठमाडौं - नेपाल धितोपत्र बोर्ड सेबोन नेतृत्व विहीन हुँदा ३१ कम्पनीको साढे आठ अर्बको साधारण शेयर (आईपीओ) अनुमति रोकिएको थियो । सर्वोत्तम सिमेन्टको सेयर खरिद गरेको अभियोगमा सरकारले गत भदौ दोस्रो साता तत्कालीन धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई दोषी ठहर गर्दै बर्खास्त गरेको थियो ।
अर्थमन्त्रालयले बोर्डका कार्यकारी निर्देशक निरज गिरीलाई निमित्त अध्यक्षको जिम्मेवारी दिएपनि उनलाई आईपीओ बिक्रीको अनुमति थिएन । यसबीचमा बोर्ड सञ्चालक समितिको बैठकले केही कम्पनीलाई हकप्रद र ऋणपत्र जारी गर्न भने स्वीकृति दिएको थियो ।
बोर्ड सञ्चालक समितिको गत सातको बैठकले आईपीओ अनुमतिको जिम्मेवारी अर्थ मन्त्रालयबाट प्रतिनिधित्व गरिरहेका सहसचिव शोभाकान्त पौडेललाई दिने निर्णय गरेसँगै पाँच कम्पनीले सवा एक अर्ब रुपैयाँ बराबरको आईपीओ निष्कासनको अनुमति पाएका छन् । बोर्डबाट अनुमति पाएको २ महिनाभित्र उक्त कम्पनीहरुले सेयर निष्कासन गरिसक्नुपर्ने कानुनी व्यवस्था छ ।
अझै २६ कम्पनीको ७ अर्ब २९ करोड ८१ लाख १६ हजार ४०० रुपैयाँ मूल्यको ६ करोड ६२ लाख ६१ हजार १९४ कित्ता सेयर बिक्रीका लागि धितोपत्रको बोर्डको अनुमतिको पर्खाइ ९पाइपलाइन० मा रहेका छन् ।
प्रतिक्रिया