पुस मसान्तसम्ममा नबिल बैंकले कमायो २ अर्ब १८ करोड १४ लाख नाफा, प्रतिशेयर आम्दानी कति ?

४ बर्ष अगाडि

काठमाडौं - नबिल बैंक लिमिटेडले चालु आर्थिक वर्षको पुष महिनासम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले २ अर्ब १८ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । 

यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८.२० प्रतिशत बढी हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३५.१३ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी ०.५१ प्रतिशत बढेको छ । समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा भने ८.६० प्रतिशत मात्र बढेको छ । 

गत आर्थिक वर्षको पुस मसान्तसम्ममा १३ करोड ९१ लाख रुपैयाँ रिभर्स भएको बैंकको इम्पेरमेन्ट चार्ज चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ४० करोड १७ लाख रुपैयाँ पुगेको छ । उक्त अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा १ अर्ब ४५ करोड ८ लाख रुपैयाँ रहेको छ ।

नाफा सामान्य बढेपनि बैंकको प्रतिशेयर आम्दानी अर्थात ईपीएस भने घटेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी २९ रुपैयाँ ९९ पैसाबाट घटेर २३ रुपैयाँ ५९ पैसामा झरेको छ । उक्त अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ४७.०६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १८४ रुपैयाँ २८ पैसा रहेको छ ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा बैंकको चुक्ता पूँजी ३३.६० प्रतिशत बढेको छ भने जगेडा कोष २२.११ प्रतिशत घटेको छ । साथै बैंकको निक्षेप ४.०६ प्रतिशत र कर्जा ८.६८ प्रतिशत बढेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया