एभरेष्ट बैंकको ८.५ प्रतिशत ब्याजदर कायम ऋणपत्रमा आवेदन दिने म्याद थप,अब कहिलेसम्म दिन सकिने ?

४ बर्ष अगाडि

काठमाडौं, एभरेष्ट बैंक लिमिटेडले ऋणपत्रमा आवेदन दिने म्याद थप गरेको छ।

बैंकले माघ ३ गतेदेखि  ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र, २०८६’ निष्कासन तथा बिक्री खुला गरेको वार्षिक ८.५ प्रतिशत ब्याजदर पाइने ऋणपत्रमा आवेदन दिने म्याद थप गरेको हो । ८ वर्ष अवधि रहने सो ऋणपत्रमा अब माघ १७ गतेसम्म आवेदन दिन सकिने भएको छ।

बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र निष्कासन गरेको हो। सोमध्ये ८० करोड रुपैयाँ बराबरको ८ लाख कित्ता सर्वसाधारणलाई बिक्री गरिनेछ भने बाँकी १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने बैंकले जनाएको छ। सर्वसाधारणका लागि बिक्री गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ४० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ।

ऋणपत्र निष्कासन तथा बिक्री छिटोमा माघ ६ गते बन्द हुने व्यवस्था गरिएको थियो। तर, सो अवधिसम्ममा पूर्ण आवेदन नपरेका कारण निष्कासन अवधि माघ १७ गतेसम्म लम्बिएको हो। लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्।

बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट सो ऋणपत्र खरिदका लागि आवेदन दिन सक्नेछन्।
 

४ बर्ष अगाडि

प्रतिक्रिया