कामना सेवा विकास बैंकको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक, नाफादेखि अन्य अवस्था कस्तो ?

४ बर्ष अगाडि

काठमाडौं, कामना सेवा विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । कामना सेवा विकास बैंक दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गर्नेमा पहिलो बनेको छ । बैंकले आज वित्तीय विवरण प्रकाशित गरेको हो ।

विवरण अनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ। गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ३९ करोड रुपैयाँ खुद नाफा कमाएको यस बैंकले चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ३४ करोड ३६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेपनि गैर सञ्चालन आम्दानी नभएका कारण बैंकको खुद नाफा घट्न पुगेको हो। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३१.६६ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ४१.५१ प्रतिशत बढेको छ। सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा ९ करोड ६७ लाख रुपैयाँ रहेको छ।

खुद नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ। गत आर्थिक वर्षको पुस मसान्तसम्ममा २९ रुपैयाँ ४२ पैसा रहेको बैंकको यस्तो आम्दानी, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ७ रुपैयाँ ५४ पैसा घटेर २१ रुपैयाँ ८७ पैसामा झरेको छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात २५.७४ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३३ रुपैयाँ २ पैसा रहेको छ।

गत आर्थिक वर्षको अन्त्यको तुलनामा चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा बैंकको चुक्ता पूँजी १८.५० प्रतिशत बढेको छ भने जगेडा कोष १२.५१ प्रतिशत घटेको छ। समीक्षा अवधिमा बैंकको निक्षेप ७.९९ प्रतिशत बढेको छ भने कर्जा ११.५० प्रतिशत बढेको छ।

४ बर्ष अगाडि

प्रतिक्रिया