काठमाडौं - सरकारले चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा जम्माजम्मी ३१ प्रतिशत मात्र बजेट खर्च गर्न सकेको छ । चालु आर्थिक वर्ष २०७८/७९ को आधा वर्ष अर्थात पुस मसान्तसम्ममा सरकारले ३१.०३ प्रतिशत मात्र बजेट खर्च गरेको छ ।
यसअवधिमा लक्ष्यको साढे ४७ प्रतिशत बजेट स्रोत जुटाएको सरकारको विकास खर्च भने अत्यन्त निराशजनक छ । ६ महिनाको अवधिमा सरकारको विकास खर्च १२ प्रतिशत पनि पुगेको छैन् ।
महालेखा नियन्त्रकको कार्यालयका अनुसार पुस ३० गते शुक्रबारसम्म सरकारले ११.५६ प्रतिशतमात्रै पुँजीगत खर्च गर्न सकेको छ । अर्थमन्त्री जनार्दन शर्माले हरेक महिना १० प्रतिशतका दरले पूँजीगत खर्च गर्ने कार्ययोजना अघि सारेका भएको पनि सो अनुसारको काम हुन नसक्दा अर्थमन्त्रीले अघि सारेको लक्ष्य विफल हुँदै गएको छ ।
केपी ओली नेतृत्वको पूर्ववर्ती सरकारले अध्यादेशमार्फत ल्याएको बजेटलाई प्रतिस्थापन गर्दै वर्तमान सरकारले १६ खर्ब ३२ अर्ब ८२ करोड ९२ लाख रुपैयाँ बराबरको प्रतिस्थापन बजेट ल्याएको थियो । पुसमसान्तसम्म सरकारले ५ खर्ब ६ अर्ब ६९ करोड ३० लाख रुपैयाँ खर्च गरेको हो ।
प्रतिक्रिया