मंसिरसम्ममा बजार पुँजीकरण करिब रु.३४ खर्ब नजिक,७० अर्ब ७४ करोड बराबरको धितोपत्र सूचीकृत

४ बर्ष अगाडि

काठमाडौं,  २०७७ मंसिर मसान्तमा २०६१.४ रहेको नेप्से सूचकाङ्क २०७८ मंसिर मसान्तमा २४१४.६ पुगेको छ ।

२०७८ मंसिर मसान्तमा धितोपत्र बजार पुँजीकरण रु. ३३ खर्ब ९४ अर्ब ७० करोड पुगेको छ । गत वर्षको सोही अवधीसम्म बजार पुँजीकरण रु.२७ खर्ब ६३ अर्ब ६६ करोड रहेको थियो ।

समीक्षा अवधीसम्ममा नेपाल स्टक एक्सचेन्जमा सूचीकृत कम्पनीहरूको संख्या २२४ पुगेको छ । सूचीकृत कम्पनीहरुमध्ये १४३ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ४५ जलविद्युत्कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, ५ होटल, ५ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ३ अन्य समूहका रहेका छन्। २०७७ मंसिरमा सूचीकृत कम्पनीहरूको संख्या २१२ रहेको थियो ।

सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ६८ प्रतिशत रहेको छ । त्यसैगरी जलविद्युत कम्पनीको हिस्सा १० प्रतिशत, लगानी कम्पनीको ६.८ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ४ प्रतिशत, होटेलको हिस्सा १.५ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.४ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ९.३ प्रतिशत रहेको छ ।  

नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०७८ मंसिरसम्ममा सूचीकृत ६ अर्ब १८ करोड शेयरको चुक्ता मूल्य रु.६०८ अर्ब ९२ करोड रहेको छ ।
 
आर्थिक वर्ष २०७८/७९ को पाँचौं महिनासम्ममा रु.४६ अर्ब १६ करोड बराबरको डिबेन्चर, रु.९ अर्ब ४६ करोड बराबरको साधारण शेयर, रु.८ अर्ब ९३ करोड बराबरको हकप्रद शेयर, रु.३ अर्ब ७५ करोड बराबरको म्युचुअल फण्ड र रु.२ अर्ब ४४ करोड बराबरको बोनस शेयर गरी कुल रु.७० अर्ब ७४ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन्।
 
समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले ३ अर्ब ८० करोड बराबरको डिबेन्चर, रु. ३ अर्ब बराबरको म्युचुअल फण्ड,रु.१ अर्ब ५८ करोड बराबरको साधारण शेयर र रु.६५ करोड बराबरको हकप्रद शेयर गरी कुल रु.९ अर्ब २ करोड बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया