काठमाडौं- पछिल्लो समय नेपालमा मात्र नभई विश्वभर कोरोना संक्रमितको संख्या बढ्दो रहेको छ । छिमेकी मुलुक भारतमा पनि दैनिक दुई लाखको हारहारीमा संक्रमण पुष्टि हुदैँछ आएको छ ।
नेपालको सन्दर्भमा हेर्दा पछिल्लो पाँच दिनमा मात्रै करिब ७ हजार जना नयाँ संक्रमित थपिएका छन् । औसतमा मुलुक भर दैनिक १३९३ जना संक्रमित थपिएका छन् ।
गत शुक्रबार देखि हिजो मंगलबारसम्ममा देशभर ६ हजार ९६९ जनामा संक्रमण पुष्टि भएको हो । हिजो मंगलबार मात्र २ हजार ४४४ जनामा कोरोना संक्रमण पुष्टि भएको जनसंख्या तथा स्वास्थ्य मन्त्रालयको तथ्याङकले देखाएको छ । मंगलबार १५ हजार ३३ जनाको नमुना परीक्षणमा सो संख्या बराबरमा संक्रमण देखिएको हो ।
यस्तै, गत शुक्रबार(पुस २३ गते) १४ हजार ९७१ को नमुना परीक्षणमा ९६८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । गत शुक्रबारको तुलनामा संक्रमण दर ह्वात्तै बढेको हो । नमुना परीक्षण गर्नेको संख्या लगभग लगभग बराबर हुदाँ संक्रमितको संख्या भने करिब तीन गुणा बढेको छ ।
मन्त्रालयको तथ्याङक अनुसार शनिबार १३ हजार २६४ जनाको नमुना परीक्षणमा ९४४ जनामा संक्रमण देखिएको हो ।
यस्तै, आइतबार १२ हजार ६३२ जनाको नमुना परीक्षणमा १ हजार १६७ जनामा र सोमबार ११ हजार ४२९ जनाको परीक्षणमा १ हजार ४४६ जनामा संक्रमण देखिएको हो ।
हालसम्ममा मुलुक भर ४९ लाख ४८ हजार २३७ जनाको पिसिआर विधि र ८ लाख ६५ हजार २२८ जनाको एन्टीजेन विधि गरी कुल ५८ लाख १३ हजार ४६५ जनाको नमुना परीक्षण गरिसकेको छ । नमुना परीक्षण गरेमध्ये हालसम्ममा ९ लाख ३३ हजार ८९४ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयको तथ्याङले देखाएको छ ।
त्यस्तै, निको हुनेदरको भने ९७.५ प्रतिशत देखिएको छ । कुल संक्रमित मध्ये ८ लाख १४ हजार ७९८ जना संक्रमण मुक्त भई घर फर्किएका छन् । देशभर अहिले ९ हजार ५२२ जना सक्रिय संक्रमित रहेका छन् ।
मृतकको संख्या हेर्ने हो भने हालसम्म ११ हजार ६०७ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।
त्यस्तै, कुल जनसंख्यामध्ये हाल ५०.२ प्रतिशतले पहिलो मात्रको खोप लगाइसकेका छन् भने ३७.३ प्रतिशतले पूर्ण मात्राको खोप लगाइसकेका छन् ।
लक्षित १ करोड ९९ लाख २२ हजार १६४(१८ वर्ष वा सो भन्दा माथि) जनसंख्या मध्ये ७६.५ प्रतिशतले कम्तीमा एक मात्रा र ५६.९ प्रतिशतले पूर्ण मात्राको खोप लगाएका छन् ।
नेपालमा कुल ३ करोड ९२ लाख ३ हजार ९२९ खोप मात्रा प्राप्त भएको छ । खोप अभियान सुरु भए देखि अहिले सम्म कुल २ करोड ६५ लाख ८५ हजार ६६७ मात्रा खोप लगाइएको छ । कम्तीमा एक मात्रा लगाउनेको संख्या १ करोड ५२ लाख ४९ हजार १२९ रहेको छ भने १ करोड १३ लाख ३६ हजार ५३८ जनाले पूर्ण मात्रा खोप लगाएका छन् ।
देशभर संक्रमणको दर बढ्दै गएपछि सरकारले देशभरका विद्यालयहरु माघ १५ गते सम्म बन्द गरेको छ भने २५ जना बढी मानिसहरु भेला भई कुनै पनि भेला, गोष्ठी, सभा आदि गर्न रोक लगाएको छ ।
साथै अब यही माघ ७ गते देखि सार्वजनिक सेवा लिनको लागि खोप कार्ड अनिवार्य गराएको छ ।
प्रतिक्रिया