काठमाडौं - एलआईसी नेपालको बाल समृद्धि जीवन बीमा योजना आजबाट औपचारिक रुपमा बिक्री सुरु गरेको छ । कम्पनीले आज विशेष कार्यक्रमका बीचमा नयाँ बीमा योजना सुरु गर्न लागेको हो ।
बालबालिकाहरुलाई लक्षित गर्दै बीमा समितिबाट स्वीकृति लिई अघि बढाएको उक्त जीवन बीमा योजनाबाट बालबालिकाहरुले अधिकतम् लाभ लिने विश्वास लिइएको कम्पनीले जनाएको छ ।
जन्मेको ११ वर्षसम्मका बालबालिकाहरुको बीमा गर्न सकिने सुविधा भएको नयाँ बीमा योजना अन्तर्गत बीमित १६ वर्ष पुगेपछि कूल बीमाङ्क रकमको २० प्रतिशत, १७ वर्ष पुगेपछि कूल बीमाङ्क रकमको २० प्रतिशत, १८ वर्ष पुगेपछि कूल बीमाङ्क रकमको २० प्रतिशत, १९ वर्ष पुगेपछि कूल बीमाङ्क रकमको २० प्रतिशत र २० वर्ष पुगेपछि बाँकी रहेको अर्थात कूल बीमाङ्क रकमको २० प्रतिशत भुक्तानी गर्नेछ ।
एलआईसी नेपालका अनुसार बालबालिका १६ वर्ष हुँदासम्म बीमा शुल्क भुक्तानी गरी २० वर्षको उमेरसम्म जोखिम वहन गर्ने नेपालकै पहिलो बीमा योजना हो । साथै प्रस्तावकको मृत्यु भएको अवस्थामा बीमा शुल्क मिनाहा भई बीमा अवधी पुरा भएपछि भुक्तानी पाइने कम्पनीले जनाएको छ ।
न्यूनतम् बीमाङ्क रकम ५० हजार रुपैयाँ रहेको उक्त नयाँ बीमा योजनामा बालबालिका जन्मने वित्तिकै बीमा गर्ने सुविधा छ । कूल बीमा अवधी २० वर्ष रहेको नयाँ बीमा योजनामा एकल बीमा शुल्क भुक्तानी, बार्षिक, अर्धबार्षिक, त्रैमासिक वा मासिक तरिकाबाट बीमा शुल्क भुक्तानी गर्न सकिन्छ ।
कम्पनीका अनुसार बीमा शुल्कमा एक देखि तीन प्रतिशतसम्म छुट पाइने जनाएको छ । बाल समृद्धि बीमा पोलिसी तीन वर्ष पुरा भए पश्चात मात्रै बीमालेखको समर्पण मूल्य एवम् कर्जा सुविधा पाइने जनाएको छ ।
प्रतिक्रिया