काठमाडौं – गोरुजुधाइ मेलाले प्रसिद्धि कमाएको नुवाकोटको तारकेश्वर गाउँपालिका–३ (साविकको तारुका ५) स्थित चन्दनीमा विगतका वर्षहरु झैं वर्षपनि गोरु जुधाइ माघेसक्रान्तिको अवसरमा गोरु जुधाई प्रतियोगिता आयोजना गरियो ।
यसवर्ष २३ हल गोरु जुधाउनको लागि दर्ता भएकोमा माघेसक्रान्तिको दिन खेलकूदमन्त्री जगत विश्वकर्माको उपस्थितिमा २२ हल गोरु जुधाइएको माघेसक्रान्ति गोरु जुधाइ संरक्षण संस्थाले जनाएको छ ।
यो परम्परालाई लिएर कतिपय पशुअधिकारकर्मीले विरोध गर्दै आएपनि धेरैको चासो र चर्काको विषय बन्छ तारुकाको गोरुजात्रा । तर तारुकाको मौलिक पहिचान नै बनिसकेको गोरु जुधाइ प्रतियोगिता हेर्न हजारौं दर्शक तारुका पुगेका थिए ।
प्रतियोगिताका क्रममा किसानले पालेका बलिया र आकर्षक गोरुहरु बढीमा एक घण्टासम्म जुधे अर्थात निश्चित समय जुधेर गोरु छुट्टिए । तर त्यही गोरु जुधाइले प्रसिद्धि कमाएको भूगोलका किसानदेखि स्थानीय नेतासम्मको ‘जुधाइ’ भने अझैं सकिएको छैन ।
गोरु जुधाईपछि दिइने पुरस्कारमा आयोजकले राजनीतिक रुप दिएको भन्दै स्थानीय केही किसानले पुरस्कार बहिस्कार र प्रमाणपत्र समेत च्यातिदिएको एक स्थानीयले जानकारी दिए ।
स्थानीय मदन श्रेष्ठले पुरस्कार वितरणमा आयोजकले पक्षपातपूर्ण व्यवहार गरेको भन्दै त्यसको विरोधमा आफूहरुले बुधबार गारकेश्वर गाउँपालिकास्थित वडा नम्बर २ को कार्यालय घेराउ गरेको बताए ।
उनले गोरु जुधाइको नाममा मनग्य अनुदान आउने गरेको भएपनि समितिले विजयी गोरुधनीलाई ६ हजारमात्रै पुरस्कार दिएको र त्यसमा पनि उत्कृष्ट गोरुको चयनका क्रममा राजनीतिक रङ दिने काम भएको दाबी गरे ।
‘पुरस्कार माघ १ गते नै दिइएन र कति दिने भन्ने पनि कुनै घोषणा गरिएन’, श्रेष्ठले सँग भने, ‘पुरस्कार दिन भनेर खबर आउँदा हामी गयौं तर समितिले भेदभावपूर्ण व्यवहार गरेको महसुश भएपछि हामी वडा कार्यालय धर्नामा जुट्यौं ।’
उनका अनुसार धर्नासँगै दिनभर वडाध्यक्ष समर बहादुर आले, माघेसक्रान्ति गोरु जुधाइ संरक्षण संस्थाका अध्यक्ष शिव अधिकारीलगायत र किसानहरुबीच छलफल भएपछि केहीले पुरस्कार लिएको भएपनि केहीले अझैं अझैं लिन अस्वीकार गरेको लाई बताए । सो अघि नै आक्रोशित किसान लक्ष्मण प्रधान, बद्री ढकाललगायतले प्रमाणपत्र नै च्यातेको बताइएको छ ।
समितिका अध्यक्ष शिव अधिकारीले भने केही किसानहरुले असन्तुष्टि जनाएको भएपनि त्यसलाई ठूलो विषयका रुपमा लिन नहुने लाई प्रतिक्रिया दिए । ‘उहाँहरुको माग विजेता र उपविजेतालाई २० हजार र १५ हजार दिनुपर्छ भन्ने थियो तर हाम्रो सीमित आर्थिक स्रोतका कारण विजयी सहित उत्कृष्ट गोरु चयन भएका गोरुधनीलाई ७ हजार र उपविजेतालाई ५ हजार दिएका छौं’, उनले भने ।
तर अर्का एक किसानले भने मेला समितिमा पूर्व एमाले निकटका अध्यक्ष रहेकाले राजनीतिक पूर्वाग्रह साँधेर पूर्वमाओवादी र नेपाली काँग्रेस निकटका लाई विभेद गरिएको आरोप लगाए ।
ती किसानका अनुसार केही गोरु उत्कृष्ट नहुँदा नहुँदै उत्कृष्ट घोषणा गरि आकर्षक मोबाइल वितरण समेत गरिएको बताए ।
किसान मदन श्रेष्ठले गोरु जुधाइको नाममा लाखौं उठाइएपनि किसानको लागि न्यून पुरस्कार दिइएको र त्यसमा पनि राजनीतिक आस्थाका आधारमा विभेद गरिँदा दुख लागेको बताए ।
‘एउटा जुध्ने गोरु तयार गर्नको लागि वर्षभरीनै निकै स्याहार गर्नुपर्ने हुन्छ’, उनले भने, ‘संस्कृति जोगाउन गरिएको किसानको मेहनतलाई नै निरुत्साहित गर्नेगरी राजनीतिक रङ दिइनु गलत हो ।’
स्थानीयले गोरु जुधाईको नाममा लाखौं उठ्न गरेको छ । तर समितिले त्यसको हिसाव स्पष्ट समेत नराखेको आरोप लगाएका छन् ।
तर समितिका अध्यक्ष अधिकारीले समितिले आर्थिक हिसाव किताव प्रष्ट राखेको भन्दै त्यो केही दिनमा सार्वजनिक गरिने जानकारी दिए ।
उनका अनुसार पुरस्कार, साउन्ड सिस्टम, अतिथि सत्कार, मन्च व्यवस्थापन लगायतमा गरी ५ लाखको हाराहारीमा खर्च भएको अनुमान गरिएको । त्यसका लागि गाउँपालिकाबाट २ लाख प्राप्त भएको र पर्यटन बोर्डबाट रु २ लाख दिने प्रतिबद्धता आएको बताए ।
यस्तै विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ठूलो रकम उठाइएको सुनिएको भएपनि त्यसको कहाँ र कसरी खर्च भयो त्यसबारे आफूहरुलाई थाहा नभएको किसान श्रेष्ठले जानकारी दिए ।
नेकपा तारकेश्वर गाउँपालिकाका नेता राजेन्द्र न्यौपानेले सभ्य र भव्य ढंगले गोरु जुधाई मेला सम्पन्न भएको भन्दै केही अब विवाद गरिरहनु जरुरी नरहेको बताए । उनले केही व्यक्तिहरुले गोरुधनीलाई दिने पुरस्कार र समितिबारे अफबाह फैलाएको समेत दाबी गरे ।
यस्तै तारकेश्वर गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष समर बहादुर आलेले विजयी गोरुधनीलाई बुधबार पुरस्कार र प्रमाणपत्र वितरण गरिसकिएको भन्दै यसमा कुनै विवाद नभएको दाबी गरे ।
यता पुरस्कारमा विवाद भएपछि नुवाकोट–रसुवा पर्यटन समाजका महासचिव शिव अधिकारीले पर्यटन बोर्डबाट आउन रकम अव सिधै किसानलाई दिइने जानकारी दिए । त्यसका लागि समयले पहल गरिरहेको पनि उनले बताए ।
यसवर्ष गोरुजुधाइका लागि नुवाकोटको तारुकासहित बेत्रावती, पन्चकन्या र धादिङको लागि नेपाल पर्यटन बोर्डले रु २–२ लाख गरी ८ लाख बजेट निकासा गरेको सञ्चालक समितिका सदस्य दीपक महतले जानकारी दिए ।
सो रकम नुवाकोट रसुवा पर्यटन समाजमार्फत दिएको जानकारी दिँदै आयोजकले कार्यक्रमबारेको प्रतिवेदन बोर्डमा पेश गरेपछि भुत्तानी दिइने उनको भनाई छ ।
प्रतिक्रिया