काठमाडौं - अर्थमन्त्री जनार्दन शर्माले अब फेरि लकडाउन गर्न नहुने बताएका छन् । आज बैंक तथा वित्तीय संस्था परिसंघ नेपालको दोस्रो वार्षिक साधारणसभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
उनले अब फेरि लकडाउन भए अर्थतन्त्रले थेग्न नसक्ने बताएका हुन् । उनले भने, ‘कोभिडबाट सुरक्षित हुने उपाय खोज्नुपर्छ तर लकडाउनको बाटो अपनाउनु हुँदैन २ वर्ष थला परेपछि फेरि चलायमान हुन लागेको छ, अब लकडाउन गर्नतर्फ लाग्नु हुँदैन।’
अर्थतन्त्रमा केही दबाब परेको उल्लेख गर्दै उनले भने, ‘नेपालको अर्थतन्त्र खराब भइसकेको भनिँदैछ, त्यो होइन ।’ तरलताको समस्या क्रमशः व्यवस्थापन भइरहेको अर्थमन्त्री शर्माले बताए । ‘माघ महिनाभरि तरलता संकट समाप्त हुनेछ’, उनले भने, ‘त्यसका लागि आवश्यक कदमहरु अगाडि बढाइएको छ ।’
विदेशी मुद्राको सञ्चिती केही घट्न स्वाभाविक रहेको उनको भनाइ छ । ‘डलरको मूल्य बढ्नु, ढुवानी मूल्य बढ्नु, भाडा वृद्धिलगायतका कारण यस्तो भएको हो’, उनले भने, ‘विदेशी मुद्रा सञ्चितीलाई बढाउन हामीले केही काम गरिरहेका छौँ ।
राष्ट्र बैंकले केही प्रस्ताव पठाएको भन्ने सुनेँ, त्यसका बारेमा बुझेको थिएँ, तपाइँको सुझाव गइसकेपछि सही निर्णयतिर लैजाने कुरामा मेरो पहल हुनेछ।’ हिजोका दिनमा भएका त्रुटि पनि सच्याउन आफू तयार रहेको उनले बताए । ‘अब निजी क्षेत्रसँग हातेमालो गरेरै अगाडि बढ्ने हो’, उनले भने, ‘जीडीपीमा निजी क्षेत्रको योगदान ७२ प्रतिशत र बैंकिङबाट २० प्रतिशतको योगदान छ । अब उत्पादन बढाउने कुरामा लागौँ ।’
प्रतिक्रिया