काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले अर्थतन्त्रमा अहिले तरलताभन्दा ठूलो समस्या अरू नरहेको बताएका छन् ।
बैंक तथा वित्तिय संस्था परिसंघ नेपालको दोस्रो वार्षिक साधारणसभालाई सम्बोधन गर्दै गोल्छाले अहिलेको समस्या तरलता व्यवस्थापन र शोधनान्तर घाटा भए पनि तरलताभन्दा ठूलो समस्या अरू नरहेको बताए ।
“सबै निकायको कमजोरीका कारण तरलता अभाव भयो । सरकारले पुँजीगत खर्च गर्न सकेन,” उनले भने, “सरकार मात्रै नभएर राष्ट्र बैंक पनि दोषी छ । यस्तो बेला यति मौद्रिक नीतिमा कन्जरभेटिभ एप्रोच लिन सकिन्छ कि सकिँदैन भन्ने सोच्नु पर्थ्यो ।
ओभरहिट भएको अर्थतन्त्रलाई जोगाउन सिडि ल्याइएको होला तर यसले समस्या भयो । रेमिट्यान्स बैंकिङ च्यानलबाट नआएको अवस्था छ । जबसम्म बैंकिङ च्यानलबाट रेमिटान्स आउँदैन तबसम्म तरलता समस्या रहँछ ।”
तरलता समस्यामा निजी क्षेत्रको पनि कमजोरी रहेको उनको भनाइ छ । “आयात धेरै गरे भन्ने आरोप छ । उत्पादनमुलक क्षेत्रमा लगानी गरिएन भनिन्छ । तर, उद्योगमा लगानी गर्न कस्ट अफ डुइङ विजनेश धेरै छ,” उनले भने ।
अर्थतन्त्र ओभरहिट भएको अवस्थामा लगानीलाई प्राथमिकता दिन नसक्नु कमजोरी रहेको उनको भनाइ छ । उद्योगलाई चाहिने दीर्घकालीन लगानी प्रतिवद्दता बैंकहरूले गर्ने अवस्था नरहेको उनले बताए ।
“तरलता समस्या समाधान सहज विषय छैन । तर, तरलता समस्या चाँडै समाधान भएन भने अर्थतन्त्र स्लो डाउन हुन्छ ।
प्रतिक्रिया