काठमाडौं,राहदानी नेपाली विदेश यात्रा गर्न तथा यात्राका क्रममा बाहकलाई संरक्षण प्रदान गर्न नीजको परिचय सहित जारी गरेको आधिकारी कागजात हो । नेपाली राहदानी नेपाली नागरिकहरुका लागि नेपाल राहदानी विभागले जारी गर्ने गरेको छ।
आज हामीले राहदानी बनाउदाँ के कस्ता कुरा आवश्यक पर्ने र हाल राहदानी विभागले ल्याएको ई- पासपोर्ट विषयमा जानकारी दिने छौं ।
राहदानी(पासपोर्ट) को लागि निवेदन कसरी दिने ?
यसको लागि अनिवार्यरुपमा अनलाइनबाट मिति र समय बुक गर्नु पर्दछ । छिटो बुकिग गर्नेको पालो पहिले आउँछ ।तल उल्लेखित लिंक खोलेपछि आवेदनको प्रकार र राहदानीको प्रकार छान्नु पर्छ । पुरानो मेशिन रिडेबल राहदानी हुनेहरुले नबीकरण र पहिलो पटक राहदानी बनाउने वा हस्तलिखित हुनेहरुले नयाँ (New) भन्ने Option छानेर फाराम भर्नु होला ।
नेपालमा फाराम बुझाउनेहरुको हकमा ठाउँ छनौट गर्दा राहदानी विभाग (DOP) वा जिल्ला वा तोकिएका इलाका प्रशासन छान्न सकिने र जिल्ला वा इलाका प्रशासन कार्यालयमा निवेदन दिंदा आफूले नागरिकता लिएको वा बसाइसराइ गरेको जिल्लामा मात्र निवेदन दिन सकिने छ ।
राष्ट्रिय परिचयपत्र Activate भए नभएको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको हट लाइन नम्बरमा (www.donidcr.gov.np/) फोन गरेर वा भाइबर ह्वास्ट एपमा मेसेज पठाएर एकीन गरी सकेपछि मात्र लाइभ इन्रोलमेन्टको लागि आउनु होला ।
एक वर्ष वा सोभन्दा बढी पुरानो राहदानीको म्याद हुनेको हकमा विद्युतीय राहदानी जारी हुने छैन ।
विद्युतीय राहदानीको लागि फारम भर्न यो लिंक खोल्नुहोला । www.emrtds.nepalpassport.gov.np
विद्युतीय राहदानी(ई (पासपोर्ट) के हो ?
हालको राहदानीमा भएका कुराहरुको अतिरिक्त विद्युतीय राहदानी (e-Passport) मा विद्युतीय चिप र एन्टेना समेत जडान गरिएको हुन्छ । चिपमा औठाछाप, तस्विर लगायतका व्यक्तिगत विवरणहरु हुन्छन् । यी विवरणहरु राखेर चिप लक गरीसकेपछि कसैले थपघट वा फेरबदल गर्न सक्दैन । यो हालसम्म संसारमा विभिन्न मुलुकहरुमा जारी भएको अत्याधुनिक राहदानी मध्येमा पर्दछ । ICAO PKD मार्फत सुचनाहरु रुजु हुने हुँदा विभिन्न मुलुकका अध्यागमन कार्यालयहरुमा निकै सहज र छिटो हुन्छ । विद्युतीय गेटहरु भएका ठाउँमा स्वत खुल्ने व्यवस्था समेत गरिएको हुन्छ ।
विद्युतीय राहदानी(ई-पासपोर्ट)का विशेषताहरु के छन् ?
नेपालले जारी गरेको पोलिकार्बोनेट सहितको विद्युतीय राहदानी हो । पोलिकार्बोनेट सहितको डाटापेजमा विद्युतीय चिप र एन्टेना जडान गरिएको हुन्छ जुन आँखाले सहजै देख्न सकिदैन । यो तेश्रो पुस्ताको अत्यन्त सुरक्षित र भरपर्दो राहदानी हो । साधारण राहदानीको रङ्ग चकलेटी खैरो हुन्छ । साधारण राहदानी ३४ पेज र ६६ पेज गरी दुई प्रकारका जारी छन् । अब जारी हुने राहदानीहरु कुटनीतिक, विशेष, सर्भिस, अस्थायी, साधारण (३४ र ६६ पृष्ट), सिम्यान्स अभिलेख किताब गरी सात प्रकारका हुने छन् । सिम्यान्स अभिलेख किताब जारी गर्नको लागि भने आन्तरिक तयारीको कारणले केही बढी समय लाग्ने छ ।
विभागमा विद्युतीय राहदानी (ई-पासपोर्ट) बनाउन कति समय लाग्छ ?
सामान्य अवस्थामा लाइभ इन्रोलमेन्ट गरेको मितिले दुई कार्य दिन लाग्छ । नागरिकता, राष्ट्रिय परिचयपत्र, पुरानो राहदानीसँग विवरण रुजु नभएमा, थप अनुसन्धान गर्नु पर्ने भएमा, क्ष्ऋब्इ को मापदण्डअनुसार तस्विर आदि नभएर प्रणालीले स्वीकार नगरेमा राहदानी बनाउन थप समय लाग्ने हुन्छ । तीन महिना स्थायित्व ९क्तबदष्ष्शिबतष्यल० हुने समय भएको र हाल सफ्टवेयर सुधारको कार्य पनि जारी नै हुनाले भनेको समयमा राहदानी उपलब्ध नहुन पनि सक्छ । त्यसैले राहदानी हातमा नपरेसम्म टिकट बुक गर्ने वा भ्रमण तय गर्ने कार्य नगर्नु होला । संकलन गर्न तयारी भएको एसएमएस आए पछि आफूले लाइभ इन्रोलमेन्ट गर्न बुकिङ्ग जुन समयमा गरेको हो सोही समयमा मात्र लिन आउनु होला ।
के राष्ट्रियपरिचयपत्र वा यसको नम्बर अनिवार्य हो ? कहाँबाट लिन सकिन्छ ?
१६ बर्ष माथिका र नेपालमा निवेदन दिनेहरुको हकमा अनिवार्य हो । विदेशबाट निवेदन दिने र १६ बर्ष भन्दा कम उमेरका आवेदकहरुको हकमा अनिवार्य छैन । जुनसुकै जिल्ला प्रशासन कार्यालयहरुमा राष्ट्रिय परिचय पत्रको लागि निवेदन दिन सकिने व्यवस्था छ । भौतिक कार्ड आउन समय लागे पनि नम्बर तुरुन्त पाउन सकिन्छ र सो नम्बर मात्र भए राहदानी बनाउन सकिन्छ ।
हाल कुनकुन जिल्लामा विद्युतीय राहदानी (ईपासपोर्ट) को लागि लाइभइन्रोलमेन्ट गर्न सकिन्छ ?
यही पुस १४ गते सम्म काठमाडौं उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयहरु, उपत्यका बाहिर कास्की, चितवन, मकवानपुर, कपिलबस्तु, रुपन्देही, सुर्खेत, नवलपरासी, बुटवल, झापा, मोरङ्ग, धनुषा, पर्सा, सर्लाही, सुनसरी, उदयपुर आदि जिल्लाहरुमा विद्युतीय राहदानीको लागि निवेदन लिन अर्थात लाइभ इन्रोलमेन्ट गर्न बुकिङ्ग खुली सकेको छ । अन्य जिल्लाहरूमा पनि दैनिक रुपमा स्टेशनहरु स्थापना हुँदै छन् ।
जिल्लाहरूमा लाइभ इन्रोलमेन्ट गरी सकेपछि विद्युतीय राहदानी (ईपासपोर्ट) पाउन कति समय लाग्छ ?
काठमाडौं उपत्यकाका तीनवटै जिल्लाहरूमा करिब १ हप्ता भित्र नै राहदानी उपलब्ध हुने छ । काठमाडौं बाहिर महेन्द्र राजमार्ग र आसपासका जिल्ला र हवाई सुविधा भएका जिल्लामा करिब १५ दिन भित्र राहदानी उपलब्ध हुनेछ । जिल्ला प्रशासन कार्यालयहरुमा राहदानी प्राप्त भइसकेपछि लिन आउनको लागि मोबाइलमा एसएमएस आउने छ ।
रिजेक्सन वा निवेदन स्वीकृत नभएको मेसेज आएमा के गर्ने ?
मुख्य प्रतिक्षा हलमा रहेको रिजेक्सन काउन्टरमा सम्पर्क गर्नु होला । रिजेक्सनको कारण थाहा भएमा तोके अनुसारको कार्य गरेर पुनः लाइभ इन्रोलमेन्ट गर्नु पर्ने हुन्छ । सुरक्षाको कारणले एक पटक पेश भइसकेको फर्म पुनः संशोधन हुन नसस्ने भएकोले फर्म भरेर पुनः लाइभ इन्रोलमेन्ट गर्नु पर्छ । अतः फर्ममा विबरण भर्दा होशियारीसाथ भर्नु होला ।
दूर्त सेवाको लागि राष्ट्रिय परिचयपत्रको अलामा आधिकारिकता बुझेको पत्र आवश्यक पर्छ कि पर्दैन ?
कैयौं सेवाग्राहीहरुको राष्ट्रिय परिचयपत्रको विवरण नभिडेको कारण राहदानी बन्न नसकेको हुनाले जिल्लाबाट नागरिकता वा नाबालक परिचयपत्रको आधिकारिकता खुलेको पत्र साथै लिएर आउनु होला । राष्ट्रिय परिचयपत्र पेश गरे पनि विभागले आधिकारिकता खुलेको पत्र माग गर्न सक्नेछ । नाबालक परिचयपत्रको हकमा पनि यो अनिवार्य गरिएको छ ।
म्याद सकिएका मेशिन रिडेबल राहदानी नवीकरण गर्नु पर्छ कि पर्दैन ?
राहदानी नवीकरण भन्दा पनि नयाँ नै बनाउने हो । बनाएर घरमा राख्नको लागि राहदानी बनाउनु पर्दैन । जहिले आवश्यक पऱ्यो त्यही बेला बनाउन सकिन्छ । यो चालकअनुमति पत्र जस्तै नवीकरण गर्न पर्दैन र कुनै थप दस्तुर पनि लाग्दैन । क्ष्ऋब्इ ले यो मितिदेखि मेशिन रिडेबल राहदानी चल्दैन भनेर हालसम्म भनेको छैन ।
विद्युतीय राहदानी जारी भए पछि उपलब्ध हुने अरु सुविधाहरु के के छन् ?
विदेशस्थित कुटनीतिक नियोग र जिल्ला प्रशासन कार्यालयहरुले रुजु गर्ने लाइभ इन्रोलमेन्ट गर्ने र भेलिडेट गर्ने कार्य गरी सकेपछि राहदानी विभागबाट राहदानी उत्पादन हुन्छ । मेशिन रिडेबल राहदानीको जस्तै भौतिकरुपमा फर्म भरेर तस्विर टासेर पठाउनु पर्दैन । यसले गर्दा हाल लाग्ने गरेको समय भन्दा कम्तिमा पनि आधा समयमा नै विदेशस्थित कुटनीतिक नियोगहरु र जिल्ला प्रशासन कार्यालयहरुले राहदानी प्राप्त गर्न सक्छन । मेशिन रिडेबल राहदानीको लागि आइसिआर फर्म स्क्यान गर्दा धेरै त्रुटीहुने सम्भावना हुन्छ । तर विद्युतीय राहदानीमा डिजिटल रुपमा फर्म भर्नु पर्ने हुनाले त्रुटी हुने सम्भावना पनि कम हुन्छ । समय बुक गरेर र घरबाटै दस्तुर तिरेर आउन सकिने हुँदा धेरै छरितो हुन्छ । विश्वमा हाल चलेको सबै भन्दा सुरक्षित र भरपर्दो राहदानी हुनाले विश्वासयोग्य हुनुको साथै विदेश यात्रामा सहजता हुन्छ । विद्युतीय गेटहरुमा पनि आफै स्क्यान गरेर जान सकिने सक्छ । लाइभ इन्रोलमेन्ट गर्नु पर्ने हुनाले एमआरपी जस्तै तस्विरहरु नमिलेर दुस्ख पाउनु पर्ने पनि हुँदैन ।
राष्ट्रिय परिचयपत्र वा त्यसको नम्बर कसरी लिने ?
हाललाई नेपालबाट विद्युतीय राहदानी बनाउनेहरुको हकमा राष्ट्रिय परिचय पत्र वा सो को नम्बर आवश्यक पर्ने हुनाले यथासमयमा नै जिल्ला प्रशासन कार्यालयहरुमा राष्ट्रिय परिचयपत्रको लागि निवेदन दिई राष्ट्रिय परिचय पत्र वा नम्बर लिइ राख्नु हुन अनुरोध छ । राष्ट्रिय परिचपपत्र पाउन समय लागे पनि त्यसको नम्बर भने तुरुन्त पाउन सकिने हुनाले कुनै समस्या हुँदैन । लामो समयको लागि विदेश जानेहरुले पनि राष्ट्रिय परिचयपत्र लिनु हुन वा सो सम्भव नभएमा निवेदन दिएर राष्ट्रिय परिचयपत्रको परिचय नम्बर लिनु हुन अनुरोध छ ।
विद्युतीय राहदानी (ई-पासपोर्ट) को लागि कसरी निवेदन दिने ?
राहदानी विभागले वेभसाइटमा विद्युतीय राहदानीको लागि बुकिङ्ग खुला गरेको छ । यसको लागि अनलाइनबाट मिति र समय बुक गर्नु पर्दछ । जसले छिटो फर्म भरेर बुकिङ्ग गऱ्यो उसको पालो पहिले आउँछ । यसमा सोर्सफोर्स भनसुन केही चल्दैन । विभागको वेभसाइटको विद्युतीय राहदानीको लागि निवेदन भन्ने बटम थिंची प्रिइन्रोलमेन्ट पोर्टल मार्फत फाराम भरी तोकिएका सक्कल कागजात अपलोड गर्नु पर्दछ । आफूले बुक गरेको मिति र समयमा त्रिपुरेश्वरस्थित राहदानी विभाग वा तोकिएका जिल्ला प्रशासन कार्यालयहरु र विदेशस्थित नियोगमा जानु पर्दछ ।मिति र समय बुक नगरी जानेहरुको हकमा निवेदन लिन सकिने छैन । फाराम भर्दा जन्म मिति, नाम आदि विवरण दोहोराई तेहेराई हेरेर कुनै गल्ती नगर्नु हुन अनुरोध छ । आफूले गलत विवरण राखेर फाराम भरेमा र राहदानी पुनस् बनाउनु परेमा राहदानी नियमावलीअनुसार थप दस्तुर लाग्ने हुन्छ । अत : फाराम भर्ने भराउने कार्य गर्दा विशेष साबधानी अपनाउनु हुन अनुरोध छ ।
विद्युतीय र मेशिन रिडेबल राहदानीको दस्तुर के कति छ ?
विद्युतीय र मेशिन रिडेबल राहदानीहरुको दस्तुर एउटै छ । तर ६६ पृष्ठको साधारण राहदानीको दस्तुर भने फरक छ । विभागमा पहिले १ दिने २ दिने र ३ दिने सेवा भएकोमा हाल संशोधित राहदानी नियमावली अनुसार दुई कार्य दिन भित्र जारी हुने गरी एउटै दु्रत सेवा कायम गरिएको छ । दुई दिनमा लाग्ने गरेको साबिककै १२ हजार दस्तुर तोकिएको छ । जिल्ला प्रशासन कार्यालयहरुमा निवेदन दिंदा ३४ पृष्ठको राहदानीको लागि साविककै पाँच हजार र ६६ पृष्ठको लागि दश हजार राजस्व लाग्छ । विभागमा ६६ पृष्ठको राहदानीको लागि निवेदन दिंदा बीस हजार राजस्व लाग्छ । विदेशस्थित कुटनीतिक नियोगहरुमा छुट्टै दस्तुर तोकिएको छ । हराएको, च्यातिएको र १० बर्ष भन्दा कम उमेरका बच्चाको हकमा फरक फरक दस्तुर लाग्छ ।
प्रतिक्रिया