काठमाडौं - प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले आजबाट संस्थापक समूहको सेयर लिलामी बढाबढ गरी बिक्री खुल्ला गरेको छ । कम्पनीले ५ लाख ४२ हजार ९ सय ६५ कित्ता संस्थापक सेयर लिलामी बढाबढ गरी बिक्री खुल्ला गरेको हो ।
उक्त सेयर खरीद गर्न योग्य इच्छुक विद्यमान संस्थापक वा व्यक्ति, कम्पनी तथा संस्थाले कम्पनीले माघ ७ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् । उक्त सेयरको न्यूनतम मूल्य ३ सय ९५ रुपैयाँ तोकिएको छ । त्यसैले, लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । लगानीकर्ताले उक्त सेयरमा न्यूनतम ५ सय कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म आवेदन पेश गर्न गर्न सक्नेछन् ।
संस्थाको सेयर बिक्री प्रबन्धकको काम एनआइसी एशिया क्यापिटल लिमिटेडले गरेको छ । लगानीकर्ताले एनआइसी एशिया क्यापिटल लिमिटेड, बबरमहल, काठमाडौँमा आइपुग्ने गरी आवेदन दिन सक्नेछन् ।
लाभांश परिवर्तन हुने
प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले घोषणा गरेको लाभांश परिवर्तन हुने भएको छ । बिमा समितीले निर्जीवन बीमा कम्पनीलाई नगद लाभांश वितरणमा पूर्णरूपमा (कर प्रयोजन बाहेक) रोक लगाउने भएपछि कम्पनीको लाभांश परिवर्तन हुने भएको हो ।
समितिले प्रिमियर इन्स्योरेन्सलाई नगद लाभांश वितरण गर्न नदिने निर्णय पनि गरिसकेको छ । उक्त कम्पनीले यसअघि नै गत आवको नाफाबाट ७.५ प्रतिशत बोनस शेयर र ७.५ प्रतिशत नगद लाभांश वितरणको घोषणा गरेको थियो ।
अहिले नगद लाभांशमा रोक लगाउने नीति ल्याउन लागेपछि समितिले आइतवार उक्त निर्णय गरेको हो ।
प्रतिक्रिया