काठमाडौं- लामो समय घटेको बजार पुनः वृद्धिको लयमा फर्किएसँगै अत्यासलाग्दो गरी घटेको लगानीकर्ताहरुको सम्पत्ति पछिल्लो १२ कारोबार दिनमा उत्साहजनक ढंगले बढेको देखिएको हो ।
पछिल्लो १२ दिनको अवधिमा नेपाल स्टक एक्सचेञ्जको कुल बजार पूँजीकरण ४ खर्बभन्दा बढीले वृद्धि भएको हो । यसको अर्थ लगानीकर्ताले शेयरमा लगानी गरेको कुल सम्पत्ति १२ दिनकै अवधिमा ४ खर्बभन्दा बढीले बढिसकेको छ भन्ने हो ।
सन् २०२१ को डिसेम्बर २१ का दिन कुल बजार पूँजीकरण ३३ खर्ब ९६ अर्ब रुपैयाँ रहेको थियो । सो बजार पूँजीकरण बढेर जनवरी ६ मा ३८ खर्ब ३ अर्बभन्दा माथिको उचाईमा पुगेको हो ।
यसअघि सन् २०२१ के अगस्ट १८ का दिन नेप्सेको कुल बजार पूँजीकरण हालसम्मकै सबैभन्दा बढी ४४ खर्ब ६८ अर्बमा पुगेको थियो । त्यो उच्चतम विन्दूमा पुनः बजार पूँजीकरण पुग्न साढे ६ खर्बले बाँकी देखिन्छ ।
अगस्ट १८ का दिन नेप्से परिसूचक अलटाइम हाई ३२०० हाराहारीमा रहेको थियो ।
नेप्से परिसूचकमा भएको बढोत्तरीको आधारमा पछिल्ला १२ कारोबार दिनलाई हेर्ने हो भने अधिकांश दिन बढेको देखिन्छ । डिसेम्बर २१ का दिन नेप्से परिसूचक २४१५.५५ अंकमा सीमित रहेकोमा जनवरी ६ सम्म आइपुग्दा बढेर २६९२.४७ को विन्दूमा पुगिसकेको छ ।
डिसेम्बर २१ का दिन नेप्सेमा २ अर्ब ३६ करोडको शेयर किनबेच भएको देखिन्छ भने जनवरी ५ मा आइपुग्दा ४ खर्ब ५२ करोड बढीको कारोबार भएको देखिन्छ । जनवरी ६ मा भने कारोबार केही घटेर ३ अर्ब ६० करोडमा सीमित भएको देखिएको छ ।
प्रतिक्रिया