काठमाडौं, सनराइज बैंकले आफ्ना ग्राहकले आफ्नो आवश्यकतालाई भविष्यका लागि थाती राख्न नपरोस् भनेर ‘बाई नाउ पे लेटर’ योजनाअन्तर्गत विभिन्न सेवा र सुविधाका ईएमआई फ्यासिलिटी दिँदै आएको छ। यसै क्रममा बैंकले पृथक किसिमको सेवा ‘कपाल प्रत्यारोपण’मा पनि ईएमआई प्यासिलिटी ल्याएर सहजीकरण गरिदिएको छ।
यस सेवालाई अझै सहजीकरण गर्न र ग्राहकलाई एकैचोटि आर्थिक भार पर्न नदिन सनराइज बैंकले सिद्धार्थनगर सिटी अस्पतालसँग सम्झौता गरी ईएमआईमा कपाल प्रत्यारोपण गर्ने व्यवस्था गरेको छ।
गत पुस १९ गते सिद्धार्थनगर सिटी हस्पिटलमा भएको एक कार्यक्रममा हस्पिटलका प्रबन्ध निर्देशक अर्जुन पौडेल, डर्माटोलोजी विभाग प्रमुख चन्द्र मोहन शाह र बैंकका शाखा प्रमुख हरिहर सुवेदीबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ। अस्पतालले सनराइज बैंकसँग सहकार्य गरेर किस्ताबन्दी सुविधा दिएको छ।
कपाल प्रत्यारोपणलगायत कस्मेटिक उपचारका लागि आउने सेवाग्राहीलाई किस्ताबन्दीमा शुल्क तिर्ने व्यवस्था मिलाइएको अस्पतालका प्रबन्ध निर्देशक अर्जुन पौडेलले बताए।
बैंकले प्रत्यारोपणका लागि ५० हजार रुपैयाँदेखि ३ लाख रुपैयाँसम्म यस्तो ऋण बिना धितो नै शून्य ब्याजदरमा उपलब्ध गराउने छ। अठार महिनासम्म किस्तामा तिर्न मिल्ने ऋणका लागि आयस्रोत भने खुलाउनुपर्ने जनाइएको छ। लग्जरी सुविधा भएकाले एकैपटक शुल्क तिर्न गाह्रो हुनेलाई लक्षित गरेर ऋणको व्यवस्था गरिएको सनराइज बैकका भैरहवाका शाखा प्रमुख हरिहर सुवेदीले बताए।
यसअघि पनि बैंकले चितवनस्थित चितवन मेडिकल कलेज शिक्षण अस्पताल, काठमाण्डौको कोटेश्वरस्थित K33 Hair Hotel, विशालनगरस्थित Arogin Health Care & Research, बालुबाटारको Healthy Choice Nutrition and Fitness Clinicर पोखराको फेवा हेल्थ केयरमा कपाल प्रत्यारोपण तथा प्रतिस्थापन गर्न आउने सेवाग्राहीलाई किस्ताबन्दी सुविधा दिने सम्झौता गरिएको छ।
प्रतिक्रिया