वैदेशिक रोजगारीमा नेपाली श्रमिक पठाउन प्राप्त भएका मागपत्र कार्यन्वयनका लागि ६ महिनाको म्याद

३ बर्ष अगाडि

काठमाडौं - सरकारले रोजगारदाता मुलुकबाट २०७६ फागुनअघि वैदेशिक रोजगारीमा नेपाली श्रमिक पठाउन प्राप्त भएका मागपत्र कार्यन्वयनका लागि ६ महिनाको म्याद दिएको छ । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ (किसान) ले कोरोना भाइरस महामारी अघि प्राप्त भएका डिमान्ड पुनः प्रमाणीकरण गर्न खर्चिलो, झन्झटिलो र असम्भव प्रायः भएकाले व्यवहारिक कठिनाइका कारण ६ महिना कामदार पठाउन पाउने गरी म्याद थप गरिएको जानकारी दिए । 

२०७६ फागुनअघि प्राप्त भएका मागपत्र कार्यान्वयनका लागि २०७८ मंसिर २२ देखि २०७९ जेठ २१ गतेसम्म कायम रहने गरी ६ महिना म्याद थप गरिएको हो । सरकारको यो निर्णयसँग कोरोना भाइरस महामारीका कारण गरिएको लकडाउन अघि प्राप्त भएका ३० हजार बढी मागपत्र कार्यान्वयन हुने नेपाल वैदेशिक रोजगार व्यवसायी संघले जनाएको छ ।  

वैदेशिक रोजगारी सम्बन्धी मागपत्र जाँचबुझ निर्देशिका २०७५ अनुसार निर्णय गरिएको मन्त्रालयले जनाएको छ । कोरोना भाइरस महामारीका कारण सरकारले २०७६ फागुन २६ गतेबाट वैदेशिक रोजगारीमा नेपाली श्रमिक पठाउन रोक लगाइएको थियो । अहिले अन्तर्राष्ट्रिय उडान संचालन भइरहेको तथा रोजगारदाता मुलुकबाट श्रमिकको माग भइ आएकोले पहिले नै प्राप्त भएका मागपत्र अनुरुप श्रमिक पठाउन ६ महिनाको म्याद थप गरिएको हो ।

३ बर्ष अगाडि

प्रतिक्रिया