काठमाडौं - श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ (किसान)ले नेपालका दक्ष युवायुवतीलाई रोजगारीको अवसर उपलब्ध गराइदिन आग्रह गरेका छन् । नेपालका लागि फ्रान्सका राजदूत गिल्स बुर्बाओसँग मन्त्रालयमा छलफल गर्दै मन्त्री श्रेष्ठले उक्त आग्रह गरेका हुन् ।
वैदेशिक रोजगारीलाई उपलब्धीमूलक बनाउन आकर्षक तलब सुविधासहितको रोजगारीका नयाँ गन्तव्य मुलुकको पहिचान गर्न मन्त्री श्रेष्ठले विभिन्न मुलुकसँग छलफल गर्दै आएका छन् ।
मन्त्री श्रेष्ठले मन्त्रालयमा मंगलबार भएको भेटवार्तामा युरोपका विभिन्न मुलुकमा नेपाली श्रमिकहरु कार्यरत रहेको उल्लेख गर्दै नेपाली युवाका लागि फ्रान्समा रोजगारीका अवसर प्रदान गर्न आग्रह गरे । मन्त्री श्रेष्ठले नेपाल र फ्रान्सबीचको बहुआयामिक सम्बन्धलाई अझ विस्तार गर्न आफू प्रतिवद्ध रहेको बताए ।
नेपाल–फ्रान्सबीच रही आएको आपसी सम्बन्ध आगामी दिनमा अझ विस्तार हुने विश्वास व्यक्त गर्दै मन्त्री श्रेष्ठले फ्रान्सले नेपाललाई उपलब्ध गराउँदै आएको आर्थिक एवं सामाजिक क्षेत्रको सहयोग निरन्तर हुने विश्वास समेत व्यक्त गरेको मन्त्रीको निजी सचिवालयले जनाएको छ ।
सन् १९४९ अप्रिल २० मा नेपालको फ्रान्ससँग कूटनीतिक सम्बन्ध कायम भएको थियो । नेपालले कूटनीतिक सम्बन्ध राखेको फ्रान्स चौथो देश हो ।
प्रतिक्रिया