काठमाडौं, विपद्का घटनाले यस वर्ष ४२५ जनाको ज्यान लिएको छ । गत वैशाख १ देखि पुस १८ गतेसम्ममा विपद्का घटनामा परी ४२५ जनाले ज्यान गुमाएका हुन् ।पहिरो, बाढी, अविरल वर्षा, चट्याङ, सर्पदंश, आगलागी, हावाहुरी, जनावरको आक्रमण, महामारी, हिउँ हुरी, लेक लागेर र डुंगा पल्टँदा साढे ८ महिनामा ४२५ जनाको मृत्यु भएको हो ।
प्राधिकरणको तथ्याङकअनुसार यस वर्ष पहिरोमा परी १७८ जनाको मृत्यु भएको छ । बाढीका घटनामा परी ६३, अविरल वर्षाका घटनामा परी २१ जना र चट्याङ लागेर ४९ जनाको मृत्यु भएको छ ।
यस्तै, सर्पले टोकाइबाट २० जना, आगलागीमा परी ४४ जना, हावाहुरीका कारण एक जना, जनावरको आक्रमणमा परी ३५ जना, महामारीका कारण ४ जना, हिउँहुरीमा परी ४ जना, हिउँ पहिरोमा परी एक जना, लेक लागेर २ जना र डुंगा पल्टिँदा ३ जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ ।
यस वर्षको सुरुवाती साढे ८ महिनाको अवधिमा देशभर २ हजार ८२३ वटा विपद्सम्बन्धि घटना रेकर्ड गरिएको छ । ती घटनामा परी १ हजार ५२२ जना घाइते भएका छन् भने ७४ बेपत्ता रहेको प्राधिकरणले जानकारी दिएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा देशमा २ हजार ८५४ वटा विपद्का घटना रेकर्ड भएको थियो । ती घटनामा ५१५ जनाको मृत्यु, ९४३ जना घाइते र १०२ जना बेपत्ता भएका थिए ।
यसैगरी,२०७८ साल सुरु भएयता ९ वटा विपद्का घटनाहरूले १ अर्ब ७२ करोड ७२ लाख ९० हजार १२४ रुपैयाँ बराबरको आर्थिक नोक्सानी पुर्याएको छ ।
विपद्का घटनामध्ये आगलागीले यस वर्ष सबैभन्दा ठूलो आर्थिक क्षति गरेको छ । पछिल्लो साढे ८ महिनाको अवधिमा आगलागीका घटनाले मात्र १ अर्ब ४२ करोड ७ लाख ३३ हजार ६७४ रुपैयाँ बराबरको आर्थिक क्षति गरेको छ ।
यस वर्ष हालसम्म १ हजार ५०५ वटा आगलागीका घटना देशभर रेकर्ड गरिएको छ । आगलागीपछि ठूलो आर्थिक क्षति अविरल वर्षाले गरेको छ । अविरल वर्षाका कारण यस वर्ष १२ करोड ८२ लाख ७४ हजार १२० रुपैयाँ बराबरको आर्थिक क्षति भएको प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार २०७८ साल सुरु भएयता बाढीले ११ करोड ५३ लाख ९१ हजार ५०० रुपैयाँ र पहिरोले ३ करोड ४६ लाख ३५ हजार रुपैयाँ बराबरको आर्थिक नोक्सानी गरेको छ ।
चट्याङका कारण १ करोड ६४ लाख ६४ हजार ८३० रुपैयाँ, हावाहुरीका कारण ६४ लाख २४ हजार रुपैयाँ, जनावरको आक्रमणबाट ५० लाख ६७ हजार रुपैयाँ बराबरको नोक्सानी भएको छ।
अघिल्लो वर्ष सोही अवधिमा विपद्का घटनाले १ खर्ब २५ अर्ब ९७ लाख २९ हजार ३६० रुपैयाँ बराबरको आर्थिक नोक्सानी गरेको थियो ।
प्रतिक्रिया