ताप्लेजुङ - ताप्लेजुङको मिक्वाखोला गाउँपालिका वडा नम्बर ५ पापुङमा पाँच दिनदेखि हिउँमा फसेका बाबुछोराको उद्धार हुन सकेको छैन । आइतबार बिहान दुई पटक अल्टिच्युट एयरको हेलिकप्टर उद्धारका लागि गए पनि ठाउँ पहिचान गर्न नसकेपछि उद्धार हुन नसकेको हो ।
करिब ५५ वर्षका लाक्पा टासी र उनका १५ वर्षीय छोरा पासाङ शेर्पा गत बुधबारदेखि हिउँमा फसेका छन् । वडाअध्यक्ष डण्डु शेर्पालाई लाक्पाले फोनमार्फत उद्धारका लागि हेलिकप्टर पठाइदिन आग्रह गरेका थिए ।
समुद्री सतहबाट चार हजार मिटर उचाइमा रहेको पापुङको लोनाक भन्ने ठाउँमा चौँरीगोठ सार्ने क्रममा बाबुछोरा हिउँमा फसेका हुन् । गत शनिबार ११ बजे ताप्लेजुङको सुकेटारबाट उद्धारका लागि हेलिकप्टर दुई पटक उडान गरेको थियो ।
तर कुन ठाउँमा हो भन्ने मेसो नपाएपछि हेलिकप्टर रित्तै सुकेटार फर्केको थियो । फेरि आइतबार बिहान दुई पटक उद्धारका लागि सुकेटरबाट पापुङको लोनाक ठाउँमा गए पनि बाबुछोरा बसेको ठाउँ पत्ता नलागेपछि हेलिकप्टर रित्तै सुकेटार फर्केको ताप्लेजुङ प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले बताए ।
प्रतिक्रिया