काभ्रेको पनौती नगरमा माघ महिनाभर टिप्पर सञ्चालनमा रोक

४ बर्ष अगाडि

काठमाडौं, काभ्रे जिल्लाको पनौती नगरपालिकामा मकरमेला अवधिभर टिप्पर सञ्चालनमा रोक लगाइने भएको छ। पनौतीमा हरेक बाह्र वर्षमा लाग्ने ‘मकर मेला’लाई मध्यनजर गर्दै माघ महिनाभर नगरक्षेत्रमा टिप्पर सञ्चालनमा रोक लगाउने भएका हुन्।

धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको पनौतीमा मकरमेला यसै वर्षको माघ महिनाभर सञ्चालन हुनेछ।

पनौती क्षेत्रमा दैनिक ३ सयको हाराहारीमा टिप्पर गुड्ने गरेको नगरपालिकाले जनाएको छ । मकरमेला व्यवस्थापनका लागि ८ करोड बजेट छुट्याइएको समेत नगरपालिका जनाएको हो । 

मकरमेला माघ १ गतेदेखि शुरु हुनेछ। पनौतीमा मकरमेलाको तयारीस्वरूप भौतिक पूर्वाधार निर्माणका काम भइरहेका छन्। नगरपालिकाले वर्ष दिनअघिदेखि नै पनौतीस्थित सचीतीर्थ–त्रिवेणीघाटलगायत नगरपालिकाका विभिन्न क्षेत्रभित्र भौतिक पूर्वाधारको काम थालेको हो।मेलामा नेपालमा मात्र नभई भारतबाट समेत तीर्थालु आउने गर्दछन्।

माघे सङ्क्रान्तिमा पनौतीमा मकर मेला लाग्ने गर्दछ। मेला लाग्ने प्रमुख स्थान पनौतीस्थित त्रिवेणीघाट हो। उक्त स्थानमा नुहाई त्यहाँको जल उत्तरतर्फ कुञ्जगिरीमा अवस्थित गोरखनाथलाई अर्पण गर्नाले ठूलो पुण्य मिल्ने धार्मिक आस्था छ।

इतिहासविद्ले राजा प्रताप मल्लले रानीपोखरी बनाइसकेपछि विभिन्न तीर्थस्थलको जल राख्ने क्रममा पनौतीस्थित त्रिवेणीघाटको जल पनि राखेको शिलालेखमा उल्लेख गरिएको जनाएका छन्।

तीन नदीको संगमस्थल त्रिवेणीघाटमा पुण्यमाता र रोशी खोलाबाहेक पद्मावती नदी गुप्त रूपमा बहिरहेको मान्यता रहेको छ।

भारतको गंगा र यमुना नदीको संगममा गुप्तरूपले सरस्वती नदी बहेझैँ पनौतीस्थित रोशीलाई रुद्रावती नदी, पुण्यमाता नदीलाई लीलावती र गुप्तरूपले बहेकी ब्रह्मायणी मन्दिरको मुनिबाट दूध बग्ने नदी पद्मावती मानिँदै आइएको छ।

पनौतीस्थित इन्द्रेश्वर महादेव मन्दिरको उत्तरपूर्व कुनामा अवस्थित अहिल्या (शिला)लाई काठमाडौँको काष्ठमण्डपपछि पुरानो कलाकौशलयुक्त मन्दिरको रूपमा गनिएको छ।
शरीरभरी योनि भएका देवराज इन्द्र पनौतीमा आई १२ वर्षसम्म ‘श्री महादेव’को तपस्या गर्दा पापमुक्त भएपछि सोही बेलादेखि मकरमेला चल्दै आएको विश्वास छ।

पनौतीको उक्त त्रिवेणी संगममा हरेक वर्षको माघ महिनामा साँखु र भक्तपुरमा माधवनारायण देवतालाई यहाँ ल्याएर दुई दिनसम्म राखिन्छ।

४ बर्ष अगाडि

प्रतिक्रिया