सहाराले ल्यायो यात्रु र पार्टनरको लागि ६ लाख रुपैंयाको बीमा योजना

४ बर्ष अगाडि

काठमाडौं - राइड शेयरिङ एप सहाराले अंग्रेजी नयाँ वर्षको अवसरमा यात्रु तथा सहारा पार्टनरको ६ लाख रुपैंयाको बीमा योजना ल्याएको छ । यात्रु तथा पार्टनरका लागि ५ लाख रूपैयाँको दुर्घटना र १ लाख रुपैंयाको उपचार बीमा गर्ने सम्बन्धमा सहाराले अजोड इन्स्योरेन्ससँग सम्झौता गरेको छ ।

शुक्रबार एक कार्यक्रमका बिच सहारा एपका तर्फबाट अध्यक्ष शेखर श्रेष्ठ र अजोड इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्रीले बीमा सम्बन्धि सम्झौतामा हस्ताक्षर गरेका छन् । सम्झौता हस्ताक्षर भएकै दिनदेखि सहाराका पार्टनर तथा यात्रुहरुको बीमा सुरु भएको अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत खत्रीले बताए ।

यसैगरी सहाराले अंग्रेजी नयाँ वर्षदेखि आफ्ना पार्टनरहरुबाट कुनै किसिमको कमिशन नलिने उद्घोष गरेको छ । बजारमा राइडर तथा पार्टनरहरुले कम्पनीलाई २० प्रतिशतसम्म कमिशन बुझाउनु परिरहेको अवस्थालाई ध्यानमा राखेर यात्रुलाई गन्तव्यमा पुर्याउँदा संकलन हुने सबै रकम पार्टनरलाई दिने उद्धेश्यले यस्तो व्यवस्था गरिएको बताइएको छ । 

यो व्यवस्था ६ महिनासम्मका लागि लागू हुनेछ । यात्रुहरुले गूगल प्ले तथा एप्पलको एपस्टोरबाट सहारा एप डाउनलोड गरेर सेवा लिन सक्ने छन् भने चालकहरुले गूगल प्लेबाट सहारा पार्टनर नामक एप डाउनलोड गरेर सहारामा दर्ता भई सेवा दिन सक्नेछन् । एप बिजनेस ग्रोथ कम्पनीले सञ्चालनमा ल्याएको सहारा एपको प्रयोगकर्ता बढिरहेकाले दैनिक सयौंका संख्यामा राइडरहरु थपिरहेको कम्पनीले जनाएको छ । 

१ लाखभन्दा बढी प्रयोगकर्ता रहेको सहारा एपकामा झण्डै २० हजार पार्टनरहरु आबद्ध छन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया