काठमाडौं - नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आगामी निर्वाचनका लागि नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनभित्र त्रिपक्षीय प्रतिस्पर्धा देखिएको छ ।
अध्यक्षका आकांक्षीमध्येका एक संघका कार्यवाहक अध्यक्ष कमल तामाङ प्रतिस्पर्धाबाट पछि हटेपछि एसोसिएसनमा संघका द्वितीय उपाध्यक्ष कमलदेव मल्ल, महासचिव सुजितकुमार श्रेष्ठ र पूर्व द्वितीय उपाध्यक्ष भुवनसिं गुरूङले आफ्ना पक्षमा निर्णय गराउन सम्पूर्ण शक्तिसहित लागेका छन् ।
शनिबार राति अबेरसम्म छलफल भएपनि अध्यक्षको आधिकारिक उम्मेद्वार टुंगो लाग्न बाँकी रहेको बताइएको छ । शनिबार एसोसिएसन कार्यसमितिको बैठकमा आकांक्षी तीनै जनाले आफ्नो उम्मेद्वारीका बलिया पक्ष राखेका छन् ।
नेपाली कांग्रेसले केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेलाई केन्द्रीय निर्वाचन प्रतिनिधिका रूपमा खटाएको छ । उनी आएपछि सोमबार वा मंगलबार साँझसम्म एसोसिएसनले उम्मेद्वारको टुंगो लगाउने श्रोतले बतायो ।
एसोसिएसनले आफुलाई धेरै सदस्य भएको सबैभन्दा बलियो संगठनका रूपमा दाबी गर्दै आएको छ । गतवर्ष नेकपा विभाजन भएसँगै प्रगतिशील र गणतान्त्रिक व्यवसायीहरू विभिन्न संगठनमा विभाजित भएका कारणले एसोसिएसनमा आवद्ध व्यवसायीहरूले यस पटक सहजै जित्ने आंकलन छ । सोही कारणले उम्मेद्वार छनोटको आन्तरिक प्रतिस्पर्धा पेचिलो बनेको बताइएको छ ।
विभिन्न तर्क र पृष्ठभूमि राख्दै अध्यक्षका आकांक्षीहरूले आफ्नोे पक्षमा निर्णय हुँदा संघमा सहजै जितिने दाबी पेश गरिरहेका छन् । शनिबार साँझ एसोसिएसनको बैठकमा अध्यक्षका आकांक्षी तीन जनाले आफ्ना योजना र प्राथमिकता राखेका छन् ।
महासचिव श्रेष्ठले वर्तमान कार्यसमितिमा अगाडि बढाएका तर कोरोना भाइरसका कारणले पूरा गर्न बाँकी रहेका एजेन्डालाई पूर्णता दिन, वैदेशिक रोजगार ऐन, नियमावलीमा सुधार, फेमिसमा परिमार्जन, मागपत्र प्रमाणीकरणमा सहजता, वैदेशिक रोजगार विभागमा सुधार गर्ने र सहजरूपमा जित्ने अवस्था रहेको भन्दै अध्यक्षका लागि आफुलाई सहयोग गर्न आग्रह गरेका छन् ।
अर्का आकांक्षी मल्लले संघको चुस्त व्यवस्थापन गर्ने, दुईवर्षे कार्यकालका लागि महिनामा एउटा सुधारको योजना कार्यान्वयन गर्दै कार्यकालमा २४ वटा योजना कार्यान्वयन गरेर वैदेशिक रोजगारलाई व्यवस्थित र व्यवसायीलाई मर्यादित बनाउने एजेन्डा अघि सारेका छन् ।
अध्यक्षका अर्का आकांक्षी गुरूङले संघको गत निर्वाचनमा जित्ने पर्याप्त आधार हुँदाहुँदै संगठनको हितलाई ध्यानमा राखेर स्व। विष्णुप्रसाद गैरेलाई छाडेको र त्यतिखेर यसपटक आफुलाई अध्यक्षको सर्वसम्मत उम्मेद्वार बनाउने बचन दिइएकाले त्यसको पालना गरिनुपर्ने, अघिल्लो पटक प्रगतिशील पक्षले संघमा दुईतिहाइ सिट जित्दा पदाधिकारीमा आफुले मात्र जितेको कारणले अन्य दुई प्रतिस्पर्धी भन्दा आफू बलियो रहेकोले उम्मेद्वारी आफुले पाउनुपर्ने दाबी गरेका छन् ।
उनले वैदेशिक रोजगारलाई सुधार गर्न प्रशासनिक अनुभव चाहिने भन्दै संघमा नेतृत्व र काम गरेको दुबै हिसाबले आफु सिनियर भएको र जित्ने अवस्था रहेकोले, कामको निरन्तरता, लगनशीलता र कार्यकुशलताका आधारमा संस्थागत निर्णय हुनुपर्छ भन्ने धारणा राखेका छन् । आम व्यवसायी निराश भएकाले चुनावमा योग्य उम्मेद्वार देखिएनन् भने अधिकांश म्यानपावर कम्पनीबाट साधारणसभामा प्रतिनिधि नै नआउने अवस्था रहेको विषयमा उनले जोड दिएको बैठक श्रोतले बतायो ।
अध्यक्षसँगै आगामी कार्यकालका लागि समेत महत्वपूर्ण मानिने पदाधिकारीमा पनि आकांक्षी व्यवसायी बढेका छन् । प्रथम उपाध्यक्षमा एसोसिएसनका वर्तमान अध्यक्ष नरेन्द्र प्रसाद ढकाल र पूर्वअध्यक्ष प्रज्ञान न्यौपाने आकांक्षी देखिएका छन् । द्वितीय उपाध्यक्षमा राधिका कटुवाल, जनक खड्का आकांक्षी देखिएका छन् ।
महासचिवमा एसोसिएसनका पूर्व वरिष्ठ उपाध्यक्ष ऋषि शर्मा, हालका सचिव मेघनाथ भुर्तेल, सचिवमा एसोसिएसनका सचिव कमल काफ्ले, संघ कार्यसमिति सदस्य कर्ण बहादुर कटुवाल, प्रकाश बोहोरा, एसोसिएसनका सहसचिव अमिर बास्तोलालगायतको दाबी रहेको बताइएको छ । अध्यक्षका दावेदारहरूले आन्तरिकरूपमा पनि प्यानल बनाउन शुरू गरेकोे र अध्यक्षको टुंगो लागेपछि प्यानलको पनि टुंगो लाग्ने बताइएको छ । मध्यान्ह दैनिक
प्रतिक्रिया