चार दिनदेखि हिउँमा फसेका ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ स्थित पापुङका बाबुछोराको उद्धारका लागि हेलिकप्टर पठाउने तयारी भएको छ । चौँरीगोठ सार्ने क्रममा फसेका उनीहरुलाई उद्धार गर्न आज बिहान माउण्टेन एयरको हेलिकप्टर पठाउने तयारी भएको वडाध्यक्ष डण्डु शेर्पाले जानकारी दिनुभयो । अन्दाजी ५५ वर्षका लाक्पाटाँसी शेर्पा र उहाँका छोरा १५ वर्षीय पासाङ शेर्पा चार दिनदेखि हिउँमा फसेका थिए ।
वडाध्यक्ष शेर्पाका अनुसार अत्यधिक हिमपातपछि हिउँ पहिरोमा परेका उनीहरु ओढार भेटेर त्यहीँ बसेका थिए । हिउँमा फसेका शेर्पाले शनिबार बिहान फोन गरेर हेलिकप्टर पठाइदिन आग्रह गरेको वडाध्यक्ष शेर्पाको भनाइ छ । उनीहरुको उद्धारका लागि शुक्रबार प्रहरी र स्थानीय बासिन्दा सो क्षेत्रमा गएका थिए तर बाक्लो हिमपातका कारण स्थानीय बीच बाटोबाट नै फर्किएको बताइएको छ ।
जोखिमपूर्ण यात्रामा रहेका ४३४ को उद्धार
जोखिमपूर्ण यात्रामा रहेका चार सय ३४ जनालाई नेपालगञ्ज नाकाबाट उद्धार गरिएको छ । मानव बेचविखनविरुद्ध कार्यरत संस्था माइती नेपालले सन् २०२१ मा जोखिमपूर्ण यात्रामा उनीहरुलाई नेपालगञ्जस्थित सीमा नाका जमुनाहबाट उद्धार गरेको माइती नेपाल नेपालगञ्जका संयोजक केशव कोइरालाले जानकारी दिए ।
उनका अनुसार पछिल्लो समय सबैभन्दा बढी जोखिममा सुर्खेत जिल्ला देखिएको छ । एक वर्षमा ४३२ जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ । उनीहरुलाई मानव बेचविखन र सुरक्षित बसाइँसराइबारे जानकारी दिई पारिवारिक पुनर्मिलन गराइएको छ । उद्धार गरिएको र पुनर्मिलन गराइएको यो दुवै सङ्ख्या अघिल्लो वर्षभन्दा बढी नै हो ।
यस्तै श्रम र यौन शोषणमा परी उद्दार गरिएको सङ्ख्या ११ छ । एक वर्षमा खोजतलासका लागि ५२५ निवेदन परेकामा २३ जना मात्र फेला परेका छन् । कोइरालाले सामाजिक सञ्जालको अधिक प्रयोग गरी सम्पर्क स्थापित गर्ने क्रम उच्च रहेकाले जोखिम बढेको बताए । उनले राज्यसँग खोजतलास र उद्दारको संयन्त्र नहुँदा खोजतलासको कार्य प्रभावकारी हुन नसकेको बताए । बेचविखनको बदलिँदा स्वरुपमध्ये पछिल्लो समय गर्भाशय बेचविखनका घटना पनि देखिन थालेको कोइरालाको भनाइ छ ।
रोजगारीका लागि भारतलगायत तेस्रो मुलुकमा पुगेका ३२२ जनाको अवस्था अज्ञात रहेको पाइएको छ । हराइरहेका व्यक्तिको अवस्था पत्ता लगाउन विदेशस्थित विभिन्न संस्था र निकायसँग समन्वय भइरहेको कोइरालाले बताए ।
प्रतिक्रिया