काठमाडौं- शिखर इन्स्योरेन्स कम्पनीले हकप्रद शेयर निष्कासन गर्ने तयारी गरिरहेको छ। कम्पनीले हकप्रद शेयर निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन पनि दिइसकको छ ।
कम्पनीले १०ः ३ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने तयारीमा गरेको छ । कम्पनीले प्रतिकित्ता रू.१०० अंकित दरको ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद शेयर निष्कासन गर्ने छ । हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ७५ करोड ८५ लाख रहेको छ । शेयर निष्कासन तथा विक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।
हकप्रद शेयर निष्कासनपछि कम्पनीको पूँजी रु.२ अर्ब २८ करोड ६० लाख पुग्नेछ । कम्पनीले हकप्रद शेयर निष्कासन गर्नका लागि इक्रा नेपालमा रेटिङ पनि गराइसकेको छ ।
इक्रा नेपालले कम्पनीले निष्कासन गर्ने हकप्रद शेयरलाई इक्राएनपि ग्रेड ३ प्लस रेटिङ प्रदान गरेको छ । यस्तो रेटिङले कम्पनीको आधारभुत पक्ष सबल भएको देखाउँछ ।
कम्पनीले चालू आवको पहिलो त्रैमासम्ममा रू. १३ करोड ३६ लाख ५२ हजार नाफा कमाएको छ ।
यो नाफा गत आवको सोही अवधीको तुलनामा ९.२७ प्रतिशतले बढी हो । कम्पनीले गत आवमा रू.१२ करोड २३ लाख २ हजार नाफा कमाएको थियो ।
गत आवको पहिलो त्रैमाससम्ममा रू. २० करोड १० लाख ३१ हजार आम्दानी गरेको उक्त कम्पनीले चालू आवको सोही अवधिमा वृद्धि गरेर रू. २१ करोड ९३ लाख ४१ हजार आम्दानी गरेको छ ।
त्यसैगरी कम्पनीले चालू आवको पहिलो त्रैमाससम्ममा जगेडामा रू. ६३ करोड ८८ लाख ७१ हजार र बीमा कोषमा रू. १ अर्ब ३६ करोड २० लाख सञ्चित गरेको छ । सो अवधिमा कम्पनीले पुर्नबीमा गरेबापत रू. १५ करोड ९५ लाख ४६ हजार आम्दानी गरेको हो । यो आम्दानी गत आवको पहिलो त्रैमाससम्ममा रू. १३ करोड ६६ लाख ६९ हजार थियो ।
कम्पनीले चालू आवको पहिलो त्रैमाससम्ममा कुल रू.१ अर्ब ३२ लाख बीमाशुल्क आर्जन गरेको छ । गत आवको पहिलो त्रैमासको तुलनामा बीमाशुल्क चालू आवको सोही अवधिमा १०.९३ प्रतिशत वृद्धि भएको हो ।
सोही अवधीसम्ममा कम्पनीले रू. ३ हजार ६१४ जनालाई रू। ४७ करोड २७ लाख १२ हजार कुल दाबी भुक्तानी गरेको छ भने १३ हजार ३८७ जनालाई रू. २ अर्ब १४ करोड ९७ लाख ४२ हजार दाबी भुक्तानी गर्न बाँकी रहेको छ ।
कम्पनीको प्रतिशेयर आम्दानी रू. ३०.४०, मूल्य आम्दानी अनुपात ५६.९१ र प्रतिशेयर नेटवर्थ रू. २२६.७६ रहेको छ ।
प्रतिक्रिया