कोरोना भाइरस (कोभिड १९) को ओमिक्रोन भेरियन्टले युरोप र अमेरिकामा आतंकित बनाएको छ । भाइरस संक्रमणको पाचौं लहर अत्यधिक बढेपछि अमेरिकी तथा युरोपेली मुलुकहरुमा मानिसहरु आतंकित बनेका हुन् ।
गएको २४ घन्टामा अमेरिकामा ५.७२ लाख नयाँ संक्रमित भेटिएका छन् । त्यस्तै फ्रान्समा २.०६ लाख, बेलायतमा १.८९ लाख, स्पेनमा १.६१ लाख र इटालीमा १.२६ लाख नयाँ संक्रमित थपिएको बताइएको छ ।
विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले पनि डेल्टा र ओमिक्रोन भेरियन्टका कारण स्वास्थ्य प्रणाली नै विनाशकारी अवस्थामा पुग्ने गरी सुनामी आउने चेतावनी दिएको केही दिनमै अमेरिका तथा युरोपेली मुलुकहरुमा संक्रमितको संख्या ह्वात्तै बढेको हो ।
गत साता कोरोनाको विश्वव्यापी संक्रमणमा ११ प्रतिशतको वृद्धि भएको थियो । अमेरिकामा फ्रान्सको भन्दा पनि बढी संक्रमित थपिएका छन् ।
स्पेनमा विगत २४ घन्टामा १ लाख ६१ हजार ६८८ नयाँ संक्रमित थपिएका छन् । यही अवधिमा ७४ जनाको मृत्युसमेत भएको छ ।
कोरोनाका कारण अहिलेसम्म स्पेनमा मृत्यु हुनेको संख्या ८९ हजार ४०५ पुगेको छ । हालसम्म स्पेनमा ६२ लाख ९४ हजार ७४५ मानिस कोरोना संक्रमणको चपेटामा आइसकेको स्पेनका राष्ट्रिय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै अमेरिकामा कोरोना र ओमिक्रोनको बढ्दो मामिलाको असर हवाई उडानमा पनि परेको छ । न्यूयोर्क टाइम्सको बिहिबार राती जारी रिपोर्ट अनुसार देशमा करिब एक हजार उडान रद्द गरिएको छ । यसकारण बिदाको समयमा यात्री निकै तनावमा परेका छन् । एयरलाइन्स कम्पनीसँग कर्मचारीको कमी भइरहेको छ । कम्पनीले निकै कोसिस गरे तर यति हुँदा हुँदै पनि कर्मचारीको कमी भइरहेको छ । यद्यपि, खराब मौसम पनि उडान रद्द हुने एक प्रमुख कारण हो । शुक्रबार ५ सय उडान रद्द हुने आशंका छ ।
अमेरिकामा ओमिक्रोनको बढ्दो मामिलाका कारण कोरोना केसमा लगातार वृद्धि भइरहेको छ ।
प्रतिक्रिया