अब विदेश भ्रमणमा जाने नेपालीले वर्षमा बढीमा दुई पटकसम्म मात्र डलर साट्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंक, विदेशी विनिमय व्यवस्थापन विभागले अब वर्षमा बढीमा दुई पटकसम्म मात्र डलर सटहीको व्यवस्था गरेको हो ।
बुधबार राष्ट्र बैंकले मुद्रा सटही व्यवस्था सम्बन्धी एकीकृत परिपत्र–२०७६ संशोधन गरी नयाँ व्यवस्था गरेको विषयमा विदेशी विनिमय कारोबार गर्ने इजाजतपत्र प्राप्त निकायलाई परिपत्र जारी गरी जानकारी गराएको छ ।
जसमा अब भारत बाहेक अन्य मुलुकहरुको भ्रमणमा जाने राहदानी ९पासपोर्ट० धारी नेपाली नागरिकहरुलाई प्रति पटक एक हजार ५०० अमेरिकी डलरका दरले वर्षमा बढीमा दुईपटक भन्दा बढी सटही सुविधा नदिन निर्देशन दिएको छ ।
यस्तो सुविधा पनि व्यक्तिको स्टाटस हेरी स्रोतको स्वघोषणा समेत लिन नियामक राष्ट्र बैंकले इजाजत प्राप्त निकायलाई आग्रह गरेको छ । डलर सटही गर्ने सेवाग्राहीको आयस्रोत वैध हो वा होइन कुन प्रयोजनका लागि सटही गर्दैछ भन्ने हेर्नुपर्ने र त्यस्तो सटही भ्रमणमा प्रयोग नभए पुनः बैंक वा सटही निकायमा नै फिर्ता गराउन समेत बैंकले निर्देशन गरेको छ ।
यदि सटही सुविधा गलत मनसायले झुट्टा विवरण पेश गरी लिएको र ठहर भए प्रचलित ऐन, कानून बमोजिम कडा कारबाही हुने समेत बैंकले जनाएको छ ।
प्रतिक्रिया