काठमाडौं, नबिल बैंक र नेपाल बंगलादेश बैंकबीचको मर्जरमा जाने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । नबिल बैंकको हिजो बुधबार बसेको सञ्चालक समिति बैठकले नेपाल बंगलादेश बैंकसँग मर्जरमा जाने निर्णय गरेको थियो भने आज बसेको नेपाल बंगलादेश बैंकको सञ्चालक समिति बैठकले पनि सो विषय टुंग्याएको स्रोतले जनाएको छ ।
यसअघि नेपाल बंगलादेश बैंकको सञ्चालक समितिले यस अघि गठन गरेको मर्जर कमिटीलाई अधिकार प्रत्यायोजन गर्ने निर्णय समेत गरेको छ ।
दुवै बैंकको प्रतिनिधित्व रहेको संयुक्त मर्जर कमिटी समेत गठन भइसकेको छ । सोही कमिटिले शेयर आदान प्रदान अनुपात, कर्मचारीलगायतको टुंगो लगाएर मर्जर सम्बन्धी सम्पूर्ण कार्य सकाराएर एक साताभित्रै सहमति पत्र (एमओयु)मा हस्ताक्षर गर्ने जनाइएको छ।
नेपाल बंगलादेश बैंकको प्रमुख लगानीकर्ता बंगलादेशको आइएफआइसी बैंकले शेयर बिक्री गरेर बाहिरन लागेको छ । बंगलादेश बैंकमा आइएफआइसी बैंकको ४१.९१ प्रतिशत शेयर रहेको छ । मर्जर सम्झौतासँगै एनबी बैंकमा रहेको आइएफआइसीको शेयर नबिल बैंकको प्रमुख लगानीकर्ता चौधरी ग्रुपले किन्ने बताइएको छ ।
अहिले नबिल बैंकको चुक्ता पुँजी १३ अर्ब ८४ करोड रुपियाँ छ भने २० अर्ब ३९ करोड रुपियाँ सञ्चिति रहेको छ । बैंकले ३३.६० प्रतिशत बोनस शेयर र ४.४० प्रतिशत नगद लाभांश गरी ३८ प्रतिशत लाभांश पारित गर्दैछ ।
नेपाल बंगलादेश बैंकको चुक्ता पुँजी ९ अर्ब रुपियाँ र ६ अर्ब ७५ करोड रुपियाँको सञ्चिति रहेको छ । बैंकले गत वर्षको मुनाफाबाट १२ प्रतिशत बोनस शेयर र साढे ३ प्रतिशत नगद लाभांश गरेर कुल १५.५ प्रतिशत लाभांश घोषणा गरेको छ ।
प्रतिक्रिया