काठमाडौं, नेप्से सूचकले ऐतिहासिक रेकर्ड बनाएको वर्ष सन् २०२१ मा नेप्से सूचक झण्डै २१ प्रतिशतले बढेको छ। यस वर्ष नेप्से सूचक गत भदौ २ गते ३१९८.६० विन्दुसम्म पुगेको थियो भने कारोबार रकम समेत २१ अर्ब माथिसम्म पुगेको थियो।
एक बर्षकै समीक्षा गर्दा गत वर्ष नेप्से सूचकका साथै कारोबार रकम पनि उल्लेख्य बृद्धि भएको छ। यस वर्ष नेप्से सूचक २०.९५ प्रतिशत विन्दुले बढ्दा सेन्सेटिभ सूचक पनि १८.१९ प्रतिशतले बढेको छ। २०२० डिसेम्बर ३१ मा २०८७.२७ विन्दुमा रहेको नेप्से सूचक २०२१ डिसेम्बरसम्ममा ४३७.२७ अंकले बढेर २५२४.५० विन्दुमा पुगेको छ।
कारोबार रकम पनि २९१ प्रतिशतले बढेको छ। सन् २०२० मा कुल ४ खर्ब ८४ अर्ब रुपैयाँको शेयर कारोबार भएकोमा २०२१ मा १८ खर्ब ९८ अर्ब रुपैयाँको शेयर कारोबार भएको छ। यस वर्ष कारोबार रकम १४ खर्ब १३ अर्ब रुपैयाँले बढेको छ।
कारोबार रकम मात्रै होइन यस वर्ष कारोबार सँख्यामा पनि साढे २ गुणाभन्दा धेरैको बृद्धि देखिन्छ। २०२० मा ५५ लाख ४० हजार २६१ पटक कारोबार भएकोमा यस वर्ष १ करोड ९९ लाख १४ हजार ५३२ पटक कारोबार भएको छ।
नेप्से सूचक बढ्दा बजार पूँजीकरण पनि २७ प्रतिशतले बढेको छ। सन् २०२० को अन्तिममा २८ खर्ब ८ अर्ब रहेको बजार पूँजीकरण २०२१ को अन्तिममा ३५ खर्ब ६७ अर्ब रुपैयाँ पुगेको छ।
सन् २०२१ मा फाइनान्स उपसमूहको सूचक सबैभन्दा धेरै १३८.६७ प्रतिशतले बढेको छ। २०२० को अन्तिममा ८६९.४३ विन्दुमा रहेको फाइनान्स उपसमूहको सूचक बढेर २०७५.०७ विन्दुमा पुगेको हो।
यस्तै विकास बैंक उपसमूहको सूचक पनि ९८.४१ प्रतिशतले बढेको छ भने हाइड्रोपावर उपसमूहको सूचक ७४.१३ प्रतिशतले बढेको छ।
यस वर्ष जीवन बीमा उपसमूहको सूचक भने सबैभन्दा कम ५.४९ प्रतिशतले मात्रै बढेको छ। २०२० को अन्तिममा १३ हजार ४७१ विन्दुमा रहेको उक्त समूहको सूचक बढेर १४ हजार २१० विन्दुमा पुगेको हो। यस्तै बैंकिङ्ग उपसमूहको सूचक पनि ७.३७ प्रतिशतले मात्रै बढेको छ।
यस वर्ष नेप्से ऐतिहासिक विन्दुमा पुगेको भए पनि पछिल्लो समय भने त्यो बृद्धि टिक्न सकेन। केन्द्रीय बैंकले लिएका नीति र बजारमा देखिएको तरलताको असरका कारण नेप्से सूचक ऐतिहासिक विन्दुबाट करिब ७०० विन्दु तल झरेको छ।
प्रतिक्रिया