काठमाडौं, चालु आर्थिक वर्षको मंसिरसम्म जम्मा ११ अर्ब ८४ करोड रुपैयाँको मात्र पुनर्कर्जा स्वीकृत भएको छ ।
नेपाल राष्ट्र बैंकले उपलब्ध गराएको मंसिर मसान्तसम्मको तथ्यांकअनुसार ९१ कम्पनीहरुले २९ वटा बैंक तथा वित्तीय संस्थाबाट ११ अर्ब ८४ करोड ७ लाख रुपैयाँ पुनर्कर्जा प्राप्त गरेका हुन् ।
पुनर्कर्जामध्ये विशेष पुनर्कर्जा १० वटा बैंक तथा वित्तीय संस्थाबाट २ अर्ब ४५ करोड ७८ लाख रुपैयाँ १५ वटा कम्पनीहरुले पाएका छन् भने साधारण पुनर्कर्जा भने २७ बैंक तथा वित्तीय संस्थाहरुबाट ७६ वटा कम्पनीहरुले ९ अर्ब ३८ करोड २६ लाख रुपैयाँ बराबरको पुनर्कर्जा पाएका छन् ।
प्रदेशगत आधारमा पुनर्कर्जा ई विभाजन गर्दा सबैभन्दा बढी पुनरकर्जा बागमती प्रदेशबाट माग भएको देखिन्छ । कुल पुनर्कर्जा बागमती प्रदेशको हिस्सा ४७.६६ प्रतिशत रहेको छ । बागमती प्रदेशका कम्पनीहरुको ५ अर्ब ६६ करोड ६६ लाख रुपैयाँ पुनर्कर्जा स्वीकृत भएको छ । दोस्रो ठूलो पुनरकर्जा प्राप्त गर्नेमा भने लुम्बिनी प्रदेशका कम्पनीहरुले पाएका छन्। कुल कर्जामा लुम्बिनी प्रदेशको हिस्सा २२(६६ प्रतिशत छ । लुम्बिनी प्रदेशका कम्पनीहरुले २ अर्ब ६८ करोड ३६ लाख रुपैयाँ बराबरको पुनर्कर्जा उपयोग गरेका छन् । यस्तै, सबैभन्दा कम पुनर्कर्जा भने सुदुर पश्चिम प्रदेशको ०.८३ प्रतिशत मात्रै स्वीकृत भएको छ ।
क्षेत्रगत आधारमा सबैभन्दा बढी पुनर्कर्जा पर्यटन क्षेत्रमा गएको तथ्यांकले देखाएको छ । मंसिर महिनासम्मको तथ्यांकका आधारमा पर्यटन क्षेत्रमा मात्रै ६ अर्ब १५ करोड ३३ लाख रुपैयाँको पुनर्कर्जा गएको छ । यो कुल कर्जाको ५१.९७ प्रतिशत हुन आउँछ । त्यसपछि दोस्रो बढी पुनर्कर्जा गएको क्षेत्र जलविद्युत क्षेत्र हो । यस क्षेत्रमा २ अर्ब ३५ करोड ७१ लाख रुपैयाँको पुनर्कर्जा गएको छ । उत्पादनमूलक क्षेत्रमा १ अर्ब ९७ करोड ५१ लाख रुपैयाँ पुनर्कर्जा गएको छ । बैंक तथा वित्तीय संस्थाहरुले जलविद्युत, उत्पादनमूलक, कपडा, पर्यटन, यातायात, शिक्षा र अस्पताल गरी ७ क्षेत्रमा पुनर्कर्जा ऋण लगानी गरेका छन् ।
प्रतिक्रिया