नेकपा माओवादी केन्द्रका प्रतिनिधिहरुले भ्रष्ट नेताको सम्पत्ति जफत गर्नुपर्ने विषय प्रचण्डको प्रतिवेदनमा राख्न माग गरेका छन् ।
जारी आठौं राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा बुधबार टोली नेता सत्यनारायण भगतले सार्वजनिक पद धारण गरेकाहरुको सम्पत्ति छानविन गरी अनियमित देखिएको सम्पत्ति जफत गर्नुपर्ने विषयलाई पनि राजनीतिक प्रतिवेदनमा समेट्न माग गरे ।
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदनमाथि प्रदेश २ अन्तर्गत समूह ८ मा भएको छलफलको निष्कर्ष बन्दसत्रमा पेस गर्दै भगतले उक्त विषय उठाएका हुन् ।
उनले अमेरिकालाई ‘साम्राज्यवाद’ भनेझैं भारतलाई ‘विस्तारवाद’ भन्नुपर्ने बताए ।
‘अमेरिकी साम्राज्यवाद भनेझैं चीन र भारतका बारेमा पनि व्याख्या गर्नुपर्छ,’ उनले भने, ‘भारतको विस्तारवादी दृष्टिकोणमा परिवर्तन आएको छैन । भारतलाई विस्तारवाद भन्नुपर्छ ।’
स्वच्छ छवि भएकालाई पार्टीको हरेक तहमा नेतृत्व विकासको अवसर दिनुपर्नेमा उनको जोड थियो ।
प्रतिक्रिया