सुदुरपश्चिमका विमानस्थललाई १ अर्ब ३२ करोड विनीयोजन, मन्त्री आलोको आलोचना

४ बर्ष अगाडि

नेपाल नागरिक उड्यन प्राधिकरणले सुदुरपश्चिम प्रदेशका ११ विमानस्थलका लागिमात्रै १ अर्ब ३२ करोड बजेट विनीयोजन गरेको छ । कैलालीको धनगढी र गेटा, कञ्चनपुरको मझगाउँ, बैतडीको पाटन, दार्चुलाको गोकुलेश्वर, अछामको साँफेबगर र कमलबजार, बझाङ, बाजुरा, डडेल्धुरा तथा डोटीको दिपायल विमानस्थलका लागि १ अर्ब ३२ करोड रुपैयाँ बजेट छुट्याएको हो । 

आर्थिक वर्ष सुरू भएको पाँच महिनापछि बजेट विनीयोजन गरेको प्राधिकरणले धनगढी विमानस्थलका लागि १ अर्ब, अछामको साँफेबगर र कमलबजार विमानस्थलका लागि ६ करोड, कञ्चनपुरको मझगाउँ विमानस्थलका लागि २ करोड ५१ लाख ३२ हजार विनीयोजन गरेको छ । 

त्यस्तै बैतडीको पाटन विमानस्थलका लागि १ करोड ५० लाख ४४ हजार, दार्चुलाको गोकुलेश्वर विमानस्थलका लागि २ करोड ६५ लाख ४८ हजार, बझाङ विमानस्थलका लागि १२ लाख ९९ हजार, बाजुरा विमानस्थलका लागि १८ लाख ७६ हजार छुट्याइएको छ। 

डडेल्धुरा विमानस्थल सम्भाव्यता अध्यनका लागि ५० लाख तथा डोटी विमानस्थलको २५० मिटर धावनमार्ग थप गर्न, टर्मिनल टावर निर्माण र जग्गा अधिग्रहणका लागि १८ करोड ६१ लाख ४७ हजार १०० विनियोजन गरिएको प्राधिकरणले जनाएको छ।

धनगढीलाई क्षेत्रीय स्तरमा स्तरोन्नती गरीने 

प्राधिकरणले कैलालीको धनगढी विमानस्थललाई क्षेत्रीयस्तरमा स्तरोन्नती गर्नका लागि रु १ अर्ब बजेट विनीयोजन गरेको छ । प्राधिकरणका अनुसार उक्त बजेटबाट २५० बिघा जमिन अधिग्रहण तथा २ हजार ५ सय मिटर धावनमार्गका विस्तार गर्ने योजना छ । 

विमानस्थलको जग्गा अधिग्रहणमा सरकारले गरेपछि मात्रै निर्माणको लागि बजेट छुट्याउने व्यवस्था रहेकोमा पर्यटन तथा नागरिक उड्ययन मन्त्री प्रेम बहादुर आलेको दवावमा बजेट विनियोजन भएको भन्दै आलोचना भएको छ । 

आइतबार प्राधिकरणमा बसेको सञ्चालक समितिको बैठकले ४३ अर्ब ६० करोड ७७ लाख रूपैयाँ बराबरको बजेट पारित गरेको थियो । जसमा प्राधिकरणको अध्यक्ष समेत रहेका पर्यटनमन्त्री प्रेम बहादुर आलेले सुदुरपश्चिमका लागि धेरै बजेट छुट्याएको भन्दै आलोचना समेत भएको छ । 

नेपाल नागरिक उड्डयन प्राधिकरणको सञ्चालक समितिमा पर्यटनमन्त्री आले नै अध्यक्ष रहेका कारण मन्त्री आलेले धनगढीमा बजेट राख्ने सहमति नहुँदासम्म सञ्चालक समितिको बैठक नै तीन महिना टारेका थिए। प्राधिकरणका अधिकारीहरुले बजेटमा समावेश नहुदाँसम्म योजनामा राख्न नमिल्ने अडान लिए पनि मन्त्रीको दवावमा रकम विनियोजन गरिएको स्राेत बताउँछ । 

 

 

४ बर्ष अगाडि

प्रतिक्रिया