सरकारले १२ देखि १७ वर्ष उमेर समूहका व्यक्तिलाई दिने भनेको कोभिड–१९ विरुद्ध फाइजर खोप तत्कालका लागि नदिने भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुस १३ गतेदेखि २२ गतेसम्मका लागि तोकेको खोप लगाउने कार्यक्रम खोप लगाउन आवश्यक सिरिन्ज र खोपसँग मिसाइने तरल पदार्थ ‘डाइलुएन्ट’को अभाव भएकाले स्थगीत भएको हो ।
शैक्षिक संस्थाहरूमार्फत् खोप लगाउनेको तथ्याङ्क सङ्कलन गर्दा सरकारले सोचेभन्दा केही फरक विवरण हामीलाई प्राप्त भएकोले तत्कालका लागि कार्यक्रम स्थागीत गरिएको बताइएको छ । स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका निर्देशक डा. रुद्र मरासिनीले खोप कार्यक्रम प्रभावित भएको पुष्टि गरे ।
फाइजर खोपमा प्रति भाएल (सिसा) १.८ मिलिलिटर ०.९ प्रतिशत सोडियम क्लोराइड भएको डाइलुएन्ट प्रयोग गर्नुपर्ने उक्त खोपको निर्देशिकामा उल्लिखित छ।
डाइलुएन्टले खोपको बाक्लोपन केही घटाउने, रसायनहरूको सन्तुलन मिलाउने र खोपको प्रभावकारिता बढाउने पनि गर्छ।
फाइजर खोप लगाउनका लागि आवश्यक पर्ने ०.३ एमएलको सिरिन्ज पर्याप्त नभएको मरासिनीको भनाइ छ।
‘फाइजरलाई आवश्यक डाइलुएन्ट पनि नआइपुगेकाले खोप दिने कार्यक्रम केही पछाडि धकेलिएको हो,” उनले भने।
हाल सरकारसँग अन्य खोपका लागि प्रयोग हुने ०.५ एमएलको सिरिन्ज मात्र छ। आवश्यक सामग्री आइपुग्नासाथ खोप वितरण सुरु हुने उनको भनाइ छ।
मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार बागमती प्रदेशका काठमाण्डू, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुली र चितवन गरी ६ जिल्ला र सुदूरपश्चिमको डडेलधुरा साथै कर्णाली प्रदेशको सुर्खेतका बालबालिका र किशोरकिशोरी खोपबाट लाभान्वित हुने बताइएको थियो।
प्रतिक्रिया