नेकपा (माओवादी) केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनमा विश्वकै उत्कृष्ट ग्रामीण सिर्जनशिल महिला पाल्पाकी दिलकुमारी रोका (जानुका) लाई सम्मान गरिएको छ । जनयुद्ध लडेर अहिले शान्ति प्रकृयामा आएपछि ग्रामीण क्षेत्रमा काम गर्ने १० महिलाको सूचीमा विश्वकै उत्कृष्ट महिलाको पहिचान बनाएको भन्दै रोकालाइ सम्मान गरिएको हो ।
तिनाउ गाउँपालिका–३, झुम्सा दोभानकी दिलकुमारी रोकाले विश्वका ग्रामीण क्षेत्रमा काम गर्ने १० महिलाको सूचीमा परेर वुमन वर्ल्ड समिट फाउन्डेसन (डब्लूडब्लूएसएफ) बाट १ हजार डलरको पुरस्कार पाएकी थिइन ।
को हुन दिलकुमारी :
दिल कुमारी २०२८ सालमा रोल्पाको थवाङमा जन्मीएकी हुन् । २०४८ सालमा माओवादी नेता तुलाराम घर्ती ‘वसन्त’ संग विवाह गरेकी उनीले २०५३ देखि ०६३ सम्म दस बर्ष भुमिगत जीवन बिताईन् । भुमिगत राजनीतिक कालमा अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को पाल्पा र कपिलवस्तु जिल्ला अध्यक्ष समेत भैसकेकी दिल कुमारी पार्टी शान्ति प्रक्रियामा आएपछि भने २०६७ सालबाट तत्कालीन तिनाउ गाउँपालिकाको दोभान क्षेत्रमै कृषि कर्ममा रमाउन थालिन् ।
दिलकुमारीले सिद्धार्थ राजमार्गको छेउमा व्यावसायिक च्याउ खेती गर्दै आएकी छन् । उनको खेतीमा स्थानीय महिलाले रोजगारी पाएका छन् ।
उनले उत्पादक समूह, सहकारी, साना किसान, कृषि सहकारीबाट महिलालाई संगठित गर्दै आएकी छन् । साथै दिलकुमारीले कृषिलाई व्यवसायीकरण, बजारीकरण गर्न प्रेरणा र प्रोत्साहन गर्दै आएकी उनले समग्र तिनाउ गाउँपालिकामा उनले ५ सय बढी महिलामाझ पुगेर व्यावसायिक बन्नका लागि प्रेरणा दिएबापत उक्त पुरस्कार पाएकी हुन् ।
बुटवलस्थित फेवा सहकारी संस्थाबाट १० हजार ऋण लिएर सुरु गरेको उनको च्याउ खेतीमा यतिबेला उनी आफू बाहेक अन्य ३० परिवारका महिलाहरू समेत जोडिएका छन् ।
प्रती डल्ला साढे २ देखि ३ केजी च्याउ उत्पादन हुने उनको फार्मले बर्षमा ४० क्विन्टल च्याउ उत्पादन गर्छ । जसको थोक मूल्य नै १ करोड २० लाखको हाराहारीमा हुने उनी बताउँछिन् । उनका अनुसार १७ सय डल्लामा च्याउ रोप्न जम्मा ३ लाख मात्रै खर्च लाग्ने गर्दछ ।
उनले आफूले पाएको पुरस्कारको राशि पनि च्याउ उद्योगमा लगाएर थप महिलाहरूलाई आत्मनिर्भर बनाउन पहल गरेकी छन् ।
हाल ४ हजार किलोग्राम च्याउ उत्पादन गरिरहेको उनको समूहले आगामी बर्ष ५ हजार किलो च्याउ उत्पादन गर्ने लक्ष राखेको छ ।
धेरै औपचारिक शिक्षा नलिएकी र सामान्य साक्षर दिलकुमारीका श्रीमान तुलाराम घर्ती ‘बसन्त’ यतिबेला माओवादी केन्द्र लुम्बिनी प्रदेश संसदीय दलका प्रमुख सचेतक तथा पार्टीका केन्द्रिय सदस्य छन् । लुम्बिनी प्रदेशकै विशिष्ट राजनीतिकर्मी भएपनि हामी फार्ममा पुग्दा उनी च्याउमा पानी हालीरहेका थिए । सचेतक घर्ती माओवादी भित्र सरल र इमानदार नेताको रुपमा चिनिन्छन् ।
आफ्ना श्रीमान् सहित सम्पुर्ण परिवारको उर्जा र सहयोगले आफु हालको स्थानसम्म आएको दिल कुमारीको भनाई छ । उनीहरूका २ छोरी र १ छोरा छन् ।
प्रतिक्रिया