यातायात व्यवस्था विभागले रोकिएको लाईसेन्स छपाई यसैसातादेखि शुरू गर्ने भएको छ । ठेकेदार कम्पनीले १४ लाख कार्ड ल्याएकोले लाइसेन्स छाप्ने काम शुरू हुन लागेको विभागका निर्देशक डाक्टर लोकनाथ भुसालले बताए । लाइसेन्सका लागि आवश्यक कार्ड नभएका कारण छपाइ प्रभावित बन्दै आएको थियो । ‘लाइसेन्स छाप्नका लागि प्रिन्टिङ सफ्टवेयर, प्रिन्टर र कार्ड आवश्यक पर्छ । कार्ड डेलिभरीमा समस्या भएको थियो जुन अब समाधान भइसकेको छ । त्यसैले छपाइ शुरू गर्न लागेका हौं,’ विभागका निर्देशक भुसालले भने । विभागले सन् २०१७ मा स्मार्ट लाइसेन्सका लागि सफ्टवेयर निर्माण गरी कार्यान्वयनमा ल्याएपछि स्मार्ट लाइसेन्स वितरण शुरू गरेको थियो । तर पहिले ल्याइएका कार्ड सकिएपछि छपहइको काम रोकिता लाईसेन्स वितरण नै प्रभावित भएको छ । कार्डका लागि २०७७ मङ्सिरमा नेपाल–फ्रान्स संयुक्त कम्पनी सेल्पले ठेक्का पाएपनि कोभिड र विविध प्राविधिक कारण देखाउँदै आपूर्ति गर्न नसक्दा समस्या विकराल बन्दै गएको छ ।
सम्झौताअनुसार ठेक्का पाएको कम्पनीले विभागले माग गरेको ९० दिनभित्र १४ लाख कार्ड विभागलाई हस्तान्तरण गर्नुपर्ने थियो । तर, सम्झौता गरिएको १ वर्षपछि मात्रै अहिले १४ लाख स्मार्ट कार्ड आपुर्ति गरेको छ । बजारमा ७ लाख कार्डको तत्कालै माग भएको र बाँकी ७ लाख कार्ड स्टकमै रहने अवस्था रहेकाले अब समस्या समाधान उन्मुखतर्पm अग्रसर भइरहेको विभागका निर्देशक डा। भुसालले जानकारी दिए । ‘प्रतिमिनेट चारओटा कार्ड छाप्न सक्ने क्षमताको मेशिन यातायात व्यवस्था विभागसँग छ, बिहान, दिउँसो, साँझ गरी तीनैओटा सिप्ट मिलाएर तत्कालै कार्ड छाप्नेगरी तयारीमा लागिसकेका छौं,’ भुसालले भने ।
केही समयअघि स्मार्ट कार्ड छाप्न सकस परेको र सक्कली या नक्कली छुट्ट्याउन पनि समस्या भएका कारण स्मार्ट लाइसेन्स खारेज गरिने हल्ला बजारमा आए पनि त्यो सत्य नभएको विभागले जनाएको छ । ‘स्मार्ट कार्ड पर्याप्त ल्याइएको छ, कार्डको जाँच गर्न यातायात विभाग, त्यस मातहतका कार्यालय, ट्राफिकहरूसँग पनि कार्ड परीक्षण गर्ने मेशिन उपलव्ध भएकाले खारेज गर्ने भन्ने हुँदै हुँदैन बरु कार्डलाई परिष्कृत गरेर बारकोर्डसहितको वितरण गर्ने की भन्ने सोचिरहेका छौं,’ निर्देशक भुसालले भने ।
ट्राफिक प्रहरीका अधिकारीहरू भने स्मार्ट लाइसेन्स परीक्षण गर्ने उपकरणको अभाव भएको बताउँछन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एसपी सञ्जीव शर्मा दासले कार्यालयमा एउटा मात्र उपकरण रहेकोले कुनै लाइसेन्स जाँच वा अनुगमन गर्न परे यातायात व्यवस्था विभागमै सम्पर्क गरी विवरण झिकाउनुपर्ने अवस्था रहेको बताए । तर, यो ठूलो समस्या नभएको र, विभागसँगको समन्वयमा आवश्यक काम भइरहेकै उनको भनाइ रहेको छ ।
अहिले देशभर लाखौं सवारीचालक स्मार्ट लाइसेन्सको पर्खाइमा रहेका छन् । तीमध्ये केहीले ट्रायल उत्तीर्ण गरेर नयाँ लाइसेन्सका लागि आवेदन दिएका छन् भने केही कागजी लाइसेन्स म्याद सकिएकाले नवीकरण पछि स्मार्ट लाइसेन्स पाउने प्रतीक्षामा छन् ।
अहिले ट्रायल परीक्षण उत्तीर्ण गरेका सवारीचालक र नवीकरणका लागि आवेदन दिएकाहरूलाई राजस्व तिर्दा परीक्षणकालीन चालक अनुमतिपत्र दिइन्छ । उक्त अनुमतिपत्र १ वर्षका लागि मान्य हुन्छ । यसअघि परीक्षणकालीन अनुमतिपत्रलाई स्मार्ट लाइसेन्स नपाउँदासम्मको अस्थायी विकल्प भनिएको थियो । एकवर्षीय परीक्षणकालको सम्बन्धमा सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ५१ को मा पनि उल्लेख गरिएको छ । ऐनका अनुसार परीक्षणकालभित्र चालकले ऐनअन्तर्गत बनेका नियमहरू पाँचपटक वा त्यसभन्दा बढी उल्लंघन नगरेमा मात्र स्थानीय सवारीचालक अनुमतिपत्र प्राप्त गर्नेछन् ।
प्रतिक्रिया