नागरिकले सरकारलाई विभिन्न शिर्षकमा कर तिर्नुपर्छ । समयमा कर नतिरेमा गुणात्मक हिसाबले जरिवाना लिन्छ । तर यहाँ एउटा सरकारी कार्यालयले नै अरबौँ कर नतिरेको फेला परेको छ ।
सरकारी र नीजि क्षेत्रका कर्मचारीको सामाजिक सुरक्षा बापतको रकम जम्मा गरेर विभिन्न क्षेत्रमा खरबौं रुपैयाँ लगानी गरीरहेको कर्मचारी संचयकोषले त्यसको आयकर नतिरेको फेला परेको हो ।
संचयकोषले नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, निजामति कर्मचारी, निजी क्षेत्रमा कार्यरत कर्मचारी लगायतको सामाजिक सुरक्षा वापतको रकम जम्मा गरेर संकलित रकम विभिन्न क्षेत्रमा लगानी गरेको छ ।
लगानीबाट भएको आयबापतको साढे ३ अर्ब भन्दा धेरै आयकर नतिरेपछि आन्तरिक राजश्व विभाग अन्तर्गतको आन्तरिक राजश्व कार्यालय ललितपुरले पत्र काटेको छ ।
कोषले पहिलेदेखिनै कर तिर्नुपर्ने विषयमा राजस्व विभागमा छलफल भएपनि कर तिर्न आनाकानी गर्दै आएको थियो । अहिले विभागको महानिर्देशकमा शोभाकान्त पौडेल आएपछि कर असुली प्रक्रिया अघि बढाउन कर कार्यालयलाई निर्देशन दिएका हुन्।
संचयकोषले आफू स्वीकृत अवकास कोष भएकोले आयकर ऐनको दफा ६३ अनुसार स्वीकृत अवकास कोष वापत र स्वीकृत लगानीबाट प्राप्त आयमा कर नलाग्ने दावी गरेको छ ।
तर राजस्व विभागले भने कोषको केही लगानी स्वीकृत लगानी कोषमा पर्ने र केही आम्दानी स्वीकृत लगानीभित्र नपर्ने भएकोले स्वीकृत लगानीभित्र नपर्ने आम्दानीको आयकर तिर्नुपर्ने दाबी गर्दै आएको छ ।
कोषले ५२ अर्ब १९ करोड विभिन्न परियोजनामा ऋण लगानी, २२ अर्ब ४४ करोड भन्दा बढी रकमको सेयर खरिद र ७२ करोड रुपैयाँ व्यवसायिक भवनमा लगानी गरेको छ। जसबाट आम्दानी भैरहेको छ । त्यसैले कोषले संचितकर्ताहरुसँग संकलन गरेको रकम बाहेक अन्य कारोबारबाट आर्जन गरेको रकम र सेयर वापतको आम्दानीमा कर लाग्ने विभागको दाबी छ।
सोही बमोजिम विभागले कोषलाई १५ दिनभित्र कर तिर्न पत्राचार गरेको जनाएको छ । कोषले १५ दिनभित्र कर कार्यालयमा कुनैपनि जवाफ वा चित्तबुझ्दो जवाफ नपठाएमा विभाग आफैले अन्तिम कर निर्धारण गर्नेछ।
प्रतिक्रिया