मर्मत गर्न धेरै खर्चिलो भएपछि फिनल्यान्डका एक व्यक्तिले आफूले प्रयोग गर्दै आएको टेस्ला कम्पनीको कार बारुदले उडाइदिएका छन् ।
द विक म्यागाजिनका अनुसार टेस्ला कम्पनीको ग्राहक सेवासँग असन्तुष्ट रहेका टुओमास काटाइनेनले आफ्नो टेस्ला मोडल एस कार ३० किलो बारुद प्रयोग गरेर विष्फोट गराएका हुन्।
हुन त अमेरिकी विद्युतीय कार निर्माता टेस्लाका कार सामान्यतया महँगो भएकोले जो कोहीले खरिद गर्न सक्दैनन्। तर टुओमासले आफैले किनेर ८ वर्ष प्रयोग गरिसकेपछि कार मर्मतमा निकै खर्चिलो भएपछि बारुदले ध्वस्त पारेका हुन् ।
सन् २०१३ मा कार खरिद गरेका उनलाई पछिल्लो समय भने कारले समस्या देखिन थालेको थियो। उनको कारमा समस्या देखिएपछि उनी सर्भिस सेन्टरमा गएका थिए।
कार मर्मत गर्न उनलाई २२ हजार ४८० डलर लाग्ने बताइएको थियो। ८ वर्ष पुरानो भइसकेको उक्त कारको कुनै वारेन्टी पनि थिएन। त्यसैले कारको सबै खर्च कार मालिक आफैंले तिर्नुपर्ने थियो। त्यसैले टुओमासले उक्त कार विष्फोट गरेर उडाइदिएका हुन्।
टुओमासले आफ्नो कार विष्फोट गर्नुभन्दा पहिला कारमा टेस्लाका सीईओ एलन मस्कको पुत्ला राखेका थिए। विष्फोटपछि निकै सन्तुष्ट देखिएका कार धनीले टेस्लाको कार विष्फोट गर्ने आफू पहिलो व्यक्ति हुन सक्ने बताए।
प्रतिक्रिया