चाइना मोबाइल’ले ८.८ बिलियन अमेरिकन डलरको आईपीओ निष्काशन गदैं

४ बर्ष अगाडि

एजेन्सी - चीनको दिग्गज टेलिकम कम्पनी ‘चाइना मोबाइल’ ले ८.८ बिलियन अमेरिकन डलर (५६ बिलियन युआन0 बराबरको आईपीओ निष्कासन गर्ने भएको छ । 

यसअघि गत जनवरीमा अमेरिकी बजार वालस्ट्रिटबाट बाहिरिन बाध्य पारिएपछि कम्पनीले सांघाई स्टक एक्सचेन्जमा आईपीओ जारी गर्ने भएको हो । हङकङ स्टक एक्सचेन्ज (जहाँ कम्पनीको सेयर कारोबार हुन्छ) मा फाइलिङ गर्ने क्रममा कम्पनीले प्रतिसेयर ९ डलर मूल्य भएको ८४५.७ मिलियन देखि ९७२.६ मिलियन नयाँ सेयर जारी गर्ने योजना रहेको जनाएको छ । 

रिफिनिटिभका अनुसार यो आईपीओ यो वर्षकै सबैभन्दा ठूलो हुनेछ । कम्पनीले आईपीओ लिस्टिङको मिति सार्वजनिक नगरे पनि सांघाईमा यथाशीघ्र डेब्यू गर्ने योजना रहेको जनाएको छ । 

वर्षको सुरुआतमा चाइना मोबाइलसँगै चीन सरकारको स्वामित्वका अन्य दुईवटा टेलिकम कम्पनीहरु–चाइना टेलिकम र चाइना युनिकमलाई न्युयोर्क स्टक एक्सचेन्जबाट निकालिएको थियो । ट्रम्प प्रशासनले चिनियाँ सेनासँग सम्बन्ध भएका कम्पनीहरुमा अमेरिकी लगानीलाई प्रतिबन्ध लगाएपछि यी कम्पनीहरुलाई न्युयोर्क स्टक एक्सचेन्जबाट हटाइएको थियो । 

अमेरिकी राष्ट्रपति जो बाइडेनले गत जुन महिनामा प्रतिबन्ध लम्बाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए । त्यसपश्चात चीनको दोस्रो ठूलो टेलिकम कम्पनी चाइना टेलिकम सांघाईमा सूचीकृत भएको छ । कम्पनीले सेयर लिस्टिङबाट उठाएको ७.३ बिलियन डलर यो वर्षकै सबैभन्दा ठूलोमध्ये एक हो । 

यस्तै चाइना युनिकम पनि सांघाई र हङकङमा कारोबारमा आइसकेको छ । गत साता चाइना मोबाइलले सांघाईमा सूचीकृत हुनका लागि नियामक निकायबाट अनुमित प्राप्त गरिसकेको जनाएको थियो । गत अगस्टमा कम्पनीले आईपीओ निष्कासनबाट प्राप्त रकम फाइभजीको क्षमता अभिवृद्धि गर्न तथा पूर्वाधार र स्मार्ट होम प्रोजेक्टमा लगानी गर्ने जनाएको थियो । 


 

४ बर्ष अगाडि

प्रतिक्रिया