चालू आर्थिक वर्षमा नेपालमा सबैभन्दा धेरै वैदेशिक लगानी प्रतिवद्धता चीनबाट आएको छ । गएको साउन देखि मंसिर २१ गतेसम्म कूल लगानी प्रतिवद्धताको ७७ दशमलव २२ प्रतिशत चीनबाट आएको हो ।
सो अवधिमा ३० अर्ब वैदेशिक लगानी प्रतिवद्धता आएकोमा चीनबाट मात्रै २३ अर्ब २० करोडको प्रतिवद्धता आएको उद्योग विभागले जनाएको छ । चीनबाट १०२ उद्योगका लागि प्रस्ताव आएको छ ।
पाँच महिनामा विभिन्न १३ मूलुकबाट १२२ वटा उद्योगमा विदेशी लगानी प्रतिबद्धता आएको विभागको भनाई छ । नेपालमा वैदेशिक लगानी विभिन्न छ वटा शिर्षक कृषि तथा बन, उर्जा, सूचना प्रविधि, निर्माण, सेवा र पर्यटन क्षेत्रका लागि आउने गरेको विभागका सूचना अधिकारी ज्ञानेन्द्र पराजुलीले बताए।
नेपालमा लगानी गर्ने मूलुकमध्ये दोस्रोमा स्पेनबाट ४ अर्ब ८५ करोड र तेस्रोमा सिंगापुरबाट १ अर्ब लगानी प्रतिवद्धता आएको छ । त्यस्तै अमेरिकाबाट ३० करोड, भारतबाट २९ करोड, नेदरल्याण्डबाट ५ करोड ६ लाख र फ्रान्स, ईटली, जापान, दक्षिण कोरिया, स्विट्जरल्याण्ड, युके र भियतनामबाट ५/५ करोड लगानी प्रतिवद्धता छ ।
छ वटा शिर्षकमध्ये सबैभन्दा धेरै लगानी प्रतिबद्धता सेवामूलक क्षेत्रमा आएको छ । सो क्षेत्रका ३५ उद्योगमा मात्रै १५ अर्ब ९५ करोड बराबरको लगानी प्रतिबद्धता आएको हो ।
यस्तै, कृषि तथा वन पैदावारमा आधारित उद्योगमा चीनबाट रु साठी करोड लगानी प्रतिबद्धता आएको तथ्याङ्कमा उल्लेख छ । ऊर्जामूलक उद्योगमा नेदरल्याण्डबाट एक उद्योगमा पाँच करोड ६० लाख, सूचना, सञ्चार तथा प्रसारण प्रविधिमा आधारित ६ उद्योगमा ४५ करोड लगानी आएको छ ।
उत्पादनमूलक क्षेत्रका १९ उद्योगमा तीन अर्ब २४ करोड र पर्यटनसँग सम्बन्धित ५५ उद्योगमा नौ अर्ब ५५ करोड बराबरको लगानी प्रतिबद्धता आएको छ । नयाँ व्यवस्थाअनुसार पाँच करोड भन्दा कम लगानीमा नेपालमा विदेशी लगानीको उद्योग दर्ता हुदैन ।
वैदेशिक लगानी प्रतिवद्धतामध्ये सबैभन्दा धेरै मझौला उद्योगका लागि, त्यसपछि साना र अन्तिममा ठूला उद्योगका लागि छ । मझौला उद्योगका लागि १४ अर्ब ५५ करोड, सानाका लागि १० अर्ब ६० करोड र ठूला उद्योगका लागि ४ अर्ब ९० करोडको प्रतिवद्धता आएको छ ।
प्रतिक्रिया