काठमाडौं, दुई वाणिज्य बैंक सहित आज (मंगलबार) ४ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ।
एनएमबी बैंक, नेपाल एसबिआई बैंक, गणपति लघुवित्त र छिमेक लघुवित्तले साधारण सभा प्रयोजनार्थ भोली अर्थात पुस ७ गते बुकक्लोज गर्दैछन्। यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले यी कम्पनीहरुको साधारण सभामा सहभागिता जनाउनुका साथै यी कम्पनीहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।
एनएमबि बैंक लिमिटेडले पुस २२ गते, त्रिभुवन आर्मी अफिसर्स क्लब, टुँडिखेल, काठमाडौँमा २६ औँ वार्षिक साधारण सभा डाकेको छ। सो सभा बिहान साढे १० बजे शुरु हुनेछ।
सभाले हाल कायम चुक्ता पूँजीको १२.५० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ३.३० प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।
त्यसैगरी, नेपाल एसबिआई बैंक लिमिटेडले पुस २० गते, मंगलबार, त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौँमा अठ्ठाइसौँ वार्षिक साधारण सभा डाकेको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।
सभाले हाल कायम चुक्ता पूँजीको ३.५० प्रतिशतका दरले बोनस शेयर र १.८१ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशन सम्बन्धी कार्य गर्न तथा प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सर्वसाधारण शेयरधनी समूहको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने एक जना सञ्चालकको निर्वाचन गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।
गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस १७ गते, शनिबार ह्वाइट हाउस पार्टि प्यालेस, दुलेगौंडा, तनहुँमा पाँचौं वार्षिक साधारण सभा डकेको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।
सभाले हाल कायम चुक्ता पूँजीको १९ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ १ प्रतिशत बोनस शेयर गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।
छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई २७ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश गरी कुल ३० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो। सोही लाभांश प्रस्ताव पारित गर्न लघुवित्तले पुस २३ गते मकवानपुरको हेटौंडा स्थित होटल सामना प्रा।लि।को सभा हलमा २० औँ वार्षिक साधारण सभा डाकेको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।
प्रतिक्रिया