अर्थतन्त्र संकटमा पर्न थालेको भन्ने प्रचार ‘नियोजित हल्ला’ : अर्थमन्त्री शर्मा

४ बर्ष अगाडि

अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्रका सूचकहरुमा संकट आएको कुरा सत्य नभई  ‘नियोजित हल्ला’ रहेको बताएका छन् । 

सोमवार अर्थ मन्त्रालयमा आयोजित पूँजीगत खर्च सम्बन्धी अन्तर मन्त्रालयगत छलफल तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले नियोजित हल्ला चलाई अर्थतन्त्र संकटमा पर्न थालेको भनी भ्रम छर्न खोजिएको बताए । 

‘पुँजीगत खर्चको स्थिति कमजोर छ, यो कुरा साँचो हो । तर अन्य सूचकहरु संकटमा रहेको भन्ने कुरा नियोजित हल्ला हो’, उनले भने  ‘पुँजीगत खर्च बढाउनै पर्छ, तरलता अभाव हटाउन पनि पुँजीगत खर्च आवश्यक छ ।’

पुँजीगत खर्चको गति बढाउनका लागि वन तथा वातावरण सँग सम्बन्धित विद्यमान ऐन, नियम संशोधन गर्नुपर्ने आवश्यकता रहेको उनको तर्क छ । वन क्षेत्रमा पर्ने पूर्वाधार निर्माणको लागि वन मन्त्रालयबाट सम्पादन गरिनुपर्ने कामहरु मौजुदा ऐन नियमको कारण चाँडो हुन नसक्ने र त्यसबाट पुँजीगत खर्च प्रभावित हुने गरेको मन्त्री शर्माको भनाई छ । 

उनले पुस महिनाभित्र आ–आफ्नो मन्त्रालयको पुँजीगत खर्च ३० प्रतिशत पुर्याउन विभिन्न मन्त्रालयलाई आग्रह गरे। पुँजीगत खर्च बढाउन अर्थ मन्त्रालयले गर्नुपर्ने सहमति, समन्वय लगायतका कार्यहरू समयमै गर्ने प्रतिवद्धता जनाए।

पुस महिनाभित्र ३० प्रतिशत पुँजीगत खर्च गर्न नसक्ने मन्त्रालयको बजेट रकमान्तर गरी खर्च भइरहको ठाँउमा पठाइदिने तयारी भइरहेको जानकारीसमेत मन्त्री शर्माले दिए। ‘जसले खर्च गर्न सक्छ उसैलाई बजेट थपिन्छ, खर्च गर्न नसक्ने मन्त्रालयको बजेट कटौति हुन्छ। रकमान्तर गरेर पठाइन्छ’ उनले भने।
 

४ बर्ष अगाडि

प्रतिक्रिया