सरकारले चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा आन्तरिक राजस्व लक्ष्यभन्दा बढी उठाएको छ । पाँच महिना अवधिमा १ खर्ब ५१ अर्ब ७८ करोड रुपैयाँ राजस्व असुली लक्ष्य राखिएकोमा १ खर्ब ५५ अर्ब ३६ करोड रुपैयाँ उठेको आन्तरिक राजस्व विभागले जनाएको छ ।
विभागका अनुसार यो लक्ष्यको १०२ दशमलव ३५ प्रतिशत हो । संकलित राजश्व मध्ये आयकर लक्ष्यभन्दा १९ दशमलव ६१ प्रतिशत बढी असुली भएको छ । मंसिर मसान्तसम्ममा ४७ अर्ब ६२ करोड ३९ लाख रुपैयाँ लक्ष्य राखेकोमा ५६ अर्ब ९६ करोड १० लाख असुली गरेको विभागले जनाएको छ । य
त्यस्तै, अन्तःशुल्क तर्फ पनि लक्ष्यभन्दा ९ दशमलव ६५ प्रतिशत बढी राजस्व संकलन भएको छ । यो अवधिमा ३६ अर्ब २५ करोड रुपैयाँ बराबर अन्तःशुल्क उठाउनेको लक्ष्य राखिएकोमा ३९ अर्ब ७४ करोड ९० लाख रुपैयाँ संकलन भएको हो ।
विभागको तथ्यांक अनुसार मूल्य अभिवृद्धि कर (भ्याट) असुली भने लक्ष्यभन्दा १० प्रतिशतले कम उठेको छ । मंसिर मसान्तसम्ममा ४९ अर्ब ६९ करोड ३२ लाख रुपैयाँ असुली लक्ष्य राखेको विभागले ८९ दशमलव ६४ प्रतिशत अर्थात् ४४ अर्ब ५४ करोड ६४ लाख रुपैयाँ बराबर उठाएको हो ।
यस अवधिमा स्वास्थ्यसेवा कर असुली लक्ष्यभन्दा १३५ दशमलव २४ प्रतिशतले बढेको छ । ९४ करोड ९५ लाख अनुमान गरिएकोमा २ अर्ब २३ करोड ३८ लाख रुपैयाँ बराबर संकलन भएको हो ।
घरबहाल कर र शिक्षा सेवा कर भने घटेको छ । मंसिर मसान्तसम्ममा घरबहाल कर लक्ष्यको ७७ प्रतिशत र शिक्षा सेवा कर ५२ दशमलव २५ प्रतिशत मात्रै उठेको छ ।
प्रतिक्रिया