बैंकका विरुद्ध सडकमा उत्रने उद्योगीहरूको चेतावनी

४ बर्ष अगाडि

पूर्वका उद्योगीहरूले बैंकको ब्याज, बीमा र झन्झटिलो प्रकृयाका विरुद्ध आन्दोलनको घोषणा गरेका छन् । नेपाल उद्योग परिसंघ (सीएनआई) प्रदेश १ को नवनिर्वाचित कार्यसमितिले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा  उद्योगीहरूले यस्तो चेतावनी दिएका हुन् । 

नेपाल उद्योग परिसंघ प्रदेश १ का अध्यक्ष भीम घिमिरेले बढ्दो ब्याज नियन्त्रण नगरे र जथाभावी बीमा गर्न लगाउने शैलीलाई नसुधारे पूर्वका सबै उद्योगी सडकमा उत्रने बताए । 
‘पहिले हामी सरकार, बैंक, राष्ट्र बैंक, बीमा कम्पनी लगायत सबै सरोकारवालालाई अनुरोध गर्छौँ,’ आइतबार सीएनआई प्रदेश १ द्वारा आयोजित पत्रकार सम्मेलनमा  घिमिरेले भने, ‘यसपछि पनि सुधार आएन भने अल्टिमेटम दिन्छौं। त्यसपछि मात्र सडक संघर्ष सुरु गर्छौँ।’

यसअघि आफू उद्योग संगठन, मोरङमा अध्यक्ष हुँदा बैंकको बढ्दो ब्याज विरूद्ध गरेको आन्दोलनपछि १४ प्रतिशत पुगेको ब्याज ६ प्रतिशतमा झरेको भन्दै उनले यस पटकको आन्दोलन पनि सफल हुने विश्वास व्यक्त गरे। 

‘यसअघि व्यवसायीलाई कर्जा प्रदान गर्दा बैंकहरूले आधार दरमा शून्य दशमलव ७५ देखि १  प्रतिशतसम्म मात्र प्रिमियम लिने सहमति गरेका थिए,’ उनले भने, ‘अहिले त्यस सहमतिका विपरीत प्रिमियम ३ दशमलव ५ देखि ४ प्रतिशतसम्म बनाइएको छ। यसमा व्यवसायीलाई जबर्जस्ती सहमत गराउन खोजिएको छ। बैंकहरूको यो एकदमै आपत्तिजनक कार्य हो।’

घिमिरेले बैंकको ब्याजका विरुद्धमा सीएनआई प्रदेश १ ले सुरु गरेको अभियानमा सीएनआई केन्द्रीय समिति पनि सहमत भएको बताए । 

अध्यक्ष घिमिरेले प्रिमियम दरमा एक पटक सहमति भएपछि कर्जाको अवधिसम्म त्यसलाई यथावत् राखिनुपर्ने आग्रह गरे। उनले नेपालमा ब्याजदर र प्रिमियम दरमा बदमासी गर्ने कुनै बैंकलाई पनि राष्ट्र बैंकले कारबाही नगरेको गुनासो गर्दै केन्द्रीय बैंक तुरुन्त सक्रिय हुनुपर्ने माग गरे।

‘नेपालका बैंकहरू व्यापारीजस्तो नाफा कमाउने उद्देश्यले प्रेरित छन्। यिनका गतिविधि नाफा कमाउने व्यापारी, अझ भनुँ भने पुराना साहु महाजनजस्तो पुरातनवादी छन्,' उनले भने,'यसको प्रत्यक्ष उदाहरण लगानीका लागि पेश हुने कागजातहरूमा व्यवसायीका असम्बन्धित परिवारको समेत जमानी लिएर मानसिक दबाब सृजना गर्ने परिपाटीलाई लिन सकिन्छ।’

सीएनआई प्रदेश १ का मुख्य संरक्षक पवनकुमार शारडाले वाणिज्य बैंकहरूले औद्योगिक कच्चा पदार्थको पैठारीका लागि पनि एलसी खोल्न नमानेको गुनासो गरे। ‘औद्योगिक कच्चा पदार्थ पैठारीका लागि एलसी खोल्न जाँदा बैंकले पहिले मुद्दती खातामा रकम जम्मा गर्नुहोस् अनि मात्र एलसी खुल्छ भन्छन्ङ, उनले भने, ‘यति बेला म एलसी खोल्न मुद्दती खाताका लागि जम्मा गर्नुपर्ने रकम सापटीमा खोजिरहेको छु।’ 

पूर्वमा बैंकले औद्योगिक कच्चा पदार्थको एलसी खोल्न जाँदा ३० देखि १ सय प्रतिशतसम्म मार्जिन मागेको अर्का उद्योगी सीएनआई प्रदेश १ का मुख्य सल्लाहकार महेश जाजूको भनाई छ । ‘हामी बैंकको ब्याजलाई सिंगल डिजिटमा ल्याउने अभियानमा छौं’, उनले भने । 

सीएनआई प्रदेश १ का उपाध्यक्ष एवम् उत्सव फुटवेयरका सञ्चालक देवेन्द्र गुप्ताले बैंकहरूले तरलताको अभाव देखाउँदै कच्चा पदार्थको एलसी खोल्न बन्द गरेका कारण आफ्नो उद्योग संकटमा परेको चर्चा गरे।

 

४ बर्ष अगाडि

प्रतिक्रिया