काठमाडौं - उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो सातौँ वार्षिक साधारण सभा बोलाएको छ ।
संस्थाको सञ्चालक समितिको पुस ३ गते बसेको बैठकले वार्षिक साधारणसभा यही पुस २८ गते आयोजना गर्ने निर्णय गरेको हो । सभा रुपन्देहीको भैरवाहस्थित होटेल मौर्यामा बिहान ११ बजेबाट सुरु हुनेछ ।
सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित चुक्तापुँजीको ३० प्रतिशत बोनस सेयर अनुमोदन गर्नेछ । बोनस सेयर बाँडफाँडपछि सर्वसाधारण सेयर स्वामित्व अनुपात ३० प्रतिशत कायम गर्न १ करोड ७८ लाख ४५ हजार ११८.०३ रुपैयाँबराबरको एफपीओ जारी गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ ।
सभाले बोनस सेयर जारी र एफपीओ बिक्रीपछि पुँजी वृद्धि जारी तथा चुक्तापुँजी २४ करोड ६८ लाख ६५ हजार ७३६.३२ रुपैयाँ, अधिकृत पुँजी ५० करोड रुपैयाँ कायम गर्ने र सोहीअनुसार प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ ।
लाभांश र सभा प्रयोजनका लागि कम्पनीले यही पुस १४ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसको अर्थ पुस १३ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो लघुवित्तको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन् ।
प्रतिक्रिया