काठमाडौं - वैदेशिक रोजगार क्षेत्रका सरोकारवालाले छिटो कमाउने प्रलोभनमा परेर भिजिट भिसामा वैदेशिक रोजगारमा नजान रोजगार आकांक्षी युवा युवतीलाई सुझाव दिएका छन् । अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवस २०२१ को अवसरमा वैदेशिक रोजगार पत्रकार समाजले शनिबार आयोजना गरेको ‘भिजिट भिसाः समस्या र समाधान’ विषयक छलफल कार्यक्रममा उनीहरूले उक्त सुझाव दिएका हुन् ।
वैदेशिक रोजगार विज्ञ रामेश्वर नेपालले भिजिट भिसाको समस्या नेपालमा विगतदेखि नै रहेको बताए । उनले सम्बन्धित सरकारी निकायले कडाई गर्न नसक्दा भिजिट भिसामा गएर अलपत्र पर्ने र दुःख पाउने अवस्था आएको भन्दै समस्याको समाधानका लागि सरकार, व्यवसायी र स्वयं कामदार पनि सतर्क हुनुपर्नेमा जोड दिए ।
कोरोना संक्रमण केही कम भएपछि नेपालबाट भिजिट भिसामा वैदेशिक रोजगारीका लागि जाने क्रम बढ्दो रहेको र विदेशमा रहेका नेपाली कुटनैतिक नियोगहरू सक्रिय भएमा समस्या समाधान गर्न सहज हुने उनको भनाइ थियोे ।
लामो समयदेखि विदेशमा अलपत्र कामदारको उद्धारमा लागेका प्रवासी नेपाली समन्वय समितिका अध्यक्ष कुलप्रसाद कार्कीले हाल विभिन्न झुठा प्रलोभन दिएर भिजिट भिसामा युवाहरू खाडीका विभिन्न मुलुकमा लैजाने बढेको बताए । भिजिट भिसाको नाममा विदेश जाने र लैजाने हालको प्रवृत्तिलाई नियन्त्रण गर्न नसके त्यसले भविष्यमा विकराल अवस्था सिर्जना हुने उनको भनाइ थियो ।
प्रतिक्रिया