सरकार भन्छ बिजुलीको खपत बढाउँ, तर बढ्यो पेट्रोलियम पदार्थको खपत

४ बर्ष अगाडि

सरकारले विद्युतको खतपत बढाउन आह्वान गरिरहेको बेला नेपालमा पेट्रोलियम पदार्थको खपत बढेको छ । राष्ट्र बैंकले जारी गरेको चालु आर्थिक वर्षको चार महिनाको आयातको तथ्यांकमा डिजल, पेट्रोल र ग्याँसको प्रयोग घट्नुको साटो बढेको देखिएको हो ।   

तथ्यांक अनुसार आर्थिक वर्ष ०७७/७८ को मंसिरसम्म पेट्रोल ५ लाख ९१ हजार केएल आयात भएको छ। डिजेल १६ लाख ९६ हजार केएल र एलपीजी ४ लाख ७७ हजार मेट्रिक टन आयात भएको निगमले जनाएको छ। जबकी अघिल्लो आर्थिक वर्ष (आव ०७६/७७) मा पेट्रोल ५ लाख १२ हजार केएल, डिजेल १४ लाख ७३ हजार केएल र एलपीजी ४ लाख ४९ हजार टन आयात भएको थियो।

नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार पछिल्लो डेढ महिनादेखि पेट्रोलियम पदार्थको आयात र खपत झन बढ्दो क्रममा छ । विकास निर्माणका काम धमाधम बढेकोले डिजेलको खपत अत्याधिक हुने गरेको उनको भनाइ छ। त्यस्तै साथै निजी तथा सार्वजनिक सवारी साधनको संख्या धेरै नै बढेकोले पनि इन्धनको आयात बढेको उनको भनाई छ । 

निगमका अनुसार पहिले पेट्रोल दैनिक २ हजार केएल र डिजेल साढे ५ हजार केएल खपत हुँदै आएकोमा अहिले दैनिक ३ हजार केएल पेट्रोल र ७ हजार केएल डिजेलको खपत हुने गरेको छ। 

त्यसो त पछिल्ला केही वर्षहरुदेखि नै पेट्रोलियम पदार्थको आयात बढेको तथ्यांक छ । आव ०७४÷७५ मा ४ लाख ८८ हजार  केएल पेट्रोल, १५ लाख ८८ हजार केएल डिजेल र  ३ लाख ७५ हजार टन एलपीजी ग्यास आयात भएको थियो भने आव ०७५÷७६ मा पेट्रोल ५ लाख ६६ हजार ८  सय २७ केएल डिजेल १७ लाख १४ हजार ९ सय ५ केएल र एलपीजी ४ लाख २९ हजार टन आयात भएको छ। 

४ बर्ष अगाडि

प्रतिक्रिया